प्राज्ञिक थलोमा राजनीतिक ‘गुन्डागर्दी’

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

समाजशास्त्र विभागको प्रमुख आफूले चाहेको व्यक्तिलाई बनाउन सत्तारूढ दलनिकट विद्यार्थी नेता त्रिवि पदाधिकारीहरूलाई धम्क्याउँदै उत्रिए ‘गुन्डागर्दी’मा, माउ पार्टीहरूको मौन संरक्षण

कांग्रेस–एमाले मिलापले सिंहदरबारमा दुईतिहाइको सरकार छ । तर, तिनै दुई दलको ‘राजनीतिक संरक्षण’मा देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा भने सन्त्रास छ । दलबाट ‘दुरुपयोग’ भएका विद्यार्थीको धम्कीपछि कार्यालय छाडेर बिदा बसेका त्रिवि पदाधिकारीलाई फर्काउन शिक्षामन्त्रीले सामाजिक सञ्जालमै लेखेर गृहमन्त्रीसँग सुरक्षाको गुहार माग्नुपरेको छ । 

त्रिवि कीर्तिपुरमा कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुको अहिलेको लडाइँको उद्गम विन्दु हो, समाजशास्त्र विभागमा नयाँ विभागीय प्रमुखको सिफारिस । विभागीय प्रमुख युवराज लुइँटेलको कार्यकाल सकिएपछि विभागले वरिष्ठताका आधारमा पहिलो नम्बरमा पासाङ शेर्पा, दोस्रो नम्बरमा टीकाराम गौतम र तेस्रो नम्बरमा मनहरि ढकालको नाम सिफारिस गरेको थियो । तर, मानविकी तथा समाजशास्त्र संकायकी डिन प्रा.डा. कुसुम शाक्यले वरीयता मिचेर दोस्रो नम्बरका गौतमलाई विभागीय प्रमुख बनाउन सिफारिस गरिन् । शाक्य र गौतम कांग्रेसनिकट हुन् भने शेर्पा एमालेनिकट हुन् ।

पहिलो वरीयतामा परेका शेर्पालाई पाखा लगाएपछि एमालेनिकट विद्यार्थी विरोधमा उत्रिए । वरीयता मिचेर गरिएको सिफारिस कार्यान्वयन नगर्न उपकुलपति प्रा.डा. केशरजंग बराल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालमाथि दबाब दिन थाले । अर्कोतिर कांग्रेसनिकट विद्यार्थीले गौतमको नाममा भएको सिफारिस उल्ट्याए ‘राम्रो नहुने’ धम्की दिन थाले । दुई संगठनका विद्यार्थीको तारन्तार धम्कीपछि प्रहरीकै सुझावमा पदाधिकारीहरू कार्यालय आउनै छाडे । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पदाधिकारीलाई ‘ख्याल गरेर आउजाउ गर्न’ सुझाव दिएको थियो । त्यसपछि उनीहरू संयमित भएर बिदामा बस्न थालेका थिए । 

स्रोतका अनुसार कांग्रेसनिकट विद्यार्थी नेता योगेन्द्र रावलले गौतमलाई विभागीय प्रमुख नबनाए ‘ज्यान जोखिममा पर्ने’ धम्की दिएपछि त्रिवि पदाधिकारीको भागाभाग भएको हो । रावलको विगत ‘आपराधिक’ छ जसले ०७७ मा त्रिविकै प्राध्यापक प्रेम चलाउनेमाथि ‘ज्यान मार्ने’ उद्देश्यले विश्वविद्यालय हाताभित्रै आक्रमण गरेका थिए । 

निरन्तरको धम्कीपछि रजिस्ट्रार रिजालले गत शुक्रबार नै आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिन शिक्षामन्त्री विद्या भट्टराईलाई पत्र पठाएका थिए । त्रिभुवन विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारण विश्वविद्यालयका पदाधिकारीहरू तथा केन्द्रीय कार्यालयपरिसर, कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महसुस बढ्न गएको हुँदा नेपाल सरकार गृह मन्त्रालयमार्फत पदाधिकारीहरू उपकुलपतिज्यू, शिक्षाध्याक्षज्यू र रजिस्ट्रारको निजी आवास र केन्द्रीय कार्यालयपरिसर कीर्तिपुरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि सादर अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ । तर, ‘सुरक्षा थ्रेट’ भएको भन्दै त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रार बिदामा’ शीर्षकमा बुधबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि मात्रै शिक्षामन्त्री भट्टराईले उनीहरूको सुरक्षाका लागि गृहमन्त्री रमेश लेखकसँग गुहार मागिन् । 

‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ,’ उनले बुधबार सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’ गृहमन्त्री लेखक कांग्रेसका यस्ता नेता हुन्, जो देउवाको समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाउने ‘डिजाइनर’का रूपमा परिचित छन् । पदाधिकारी कार्यालयमै टेक्न नसक्ने गरी असुरक्षित बनेको त्रिविको वागडोर प्रधानमन्त्री केपी ओलीकै काँधमा छ । उनी कुलपति हुन् । एमालेकै शिक्षामन्त्री भट्टराई सहकुलपति छिन् ।

शिक्षामन्त्रीको गुहारपछि गृह मन्त्रालयले कीर्तिपुर प्रहरी वृत्तबाट इन्स्पेक्टरको कमान्डमा सुरक्षा प्रबन्ध मिलाएको छ । सुरक्षित रहने विश्वासमा त्रिवि पदाधिकारीहरू बुधबारदेखि नै कार्यालयमा उपस्थित हुन थालेका छन् । तर, समाजशास्त्र विभागमा चर्किएको विवाद ज्युँकात्युँ छ । यसअघि पनि त्रिवि पदाधिकारीको कार्यकक्षमा ताला लगाउने, ढुंगामुढा गर्नेलगायत काम विद्यार्थी नेताहरूबाट भएकाले पदाधिकारी सन्त्रासमै छन् । 

रजिस्ट्रार रिजालले वातावरण अनुकूल भएपछि कार्यालय आउन थालेको बताए । ‘आजदेखि नियमित काममा छौँ,’ उनले भने, ‘अब नियमित कामकाज अघि बढ्छन्, तर जे विषयमा विवाद हो, सो विवाद समाधान भएको छैन ।’

त्रिविमा नेविसंघले गुन्डागर्दी गरेको अनेरास्ववियुको आरोप 
त्रिवि आतंकमा नेविसंघ र अनेरास्ववियु स्पष्ट रूपमै मुखामुख छन् । अनेरास्ववियुले नेविसंघबाट ‘गुन्डागर्दी’ भएको आरोप लगाएको छ भने नेविसंघ आरोपको बचाउमा छ । 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ठूलो संगठनमा यस्ता विवादहरू हुने बताउँदै आफ्नै संगठनका व्यक्तिले मच्चाएको अराजकतालाई सामान्यीकरण गर्ने प्रयास गरे । ‘ठूलो संगठन भएकाले यस्ता सबै विवादबारे थाहा हुँदैन । कसैले केही कुरा राखेको पनि होला, त्यो अनौठो होइन,’ उनले भने, ‘त्रिवि पदाधिकारी पनि खुला प्रतिस्पर्धाबाट आएका हुन् । सिनियारिटीका आधारमा नियुक्ति हुनुपर्छ भन्ने हाम्रो धारणा हो । हामी हाम्रो मागमा अडिग छौँ ।’ 

नेविसंघबाटै निर्वाचित त्रिवि स्ववियु सभापति श्यामराज ओझाले घटनालाई ‘अनदेखा’ गर्दै पदाधिकारीले आफ्नो असक्षमता लुकाउन विद्यार्थीलाई दोष दिएको टिप्पणी गरेका छन् । ‘यो प्रोपोगान्डा हो कि साँचो हो थाहा भएन । यदि धम्की दिएको हो भने कहाँ, कसरी, कोबाट र किन धम्की आयो भन्ने हामीलाई थाहा हुनुपर्छ,’ उनले भने, ‘पदाधिकारीहरूले आफ्नो असक्षमता लुकाउन विद्यार्थीलाई दोष दिने होइन ।’ 

एमालेनिकट अनेरास्ववियु अखिलका अध्यक्ष समिक बडालले त्रिवि नियमअनुसार विभागीय प्रमुख चयन हुनुपर्ने माग गर्दै ‘प्रेम चलाउनेलाई कुट्नेहरूले अझै गुन्डागर्दी गरेको’ आरोप लगाए । ‘प्राध्यापक प्रेम चलाउनेलाई कुट्नेलाई र दादागिरी गर्नेलाई अझै पनि ठाउँ दिन पाइँदैन,’ उनले भने, ‘यस्ता गुन्डागर्दी गर्नेहरूले त्रिविलाई चुस्न पाउँदैनन्, नियमअनुसार कानुनी कारबाही गर्नुपर्छ । नियम–पद्धतिअनुसार समाजशास्त्र विभागमा विभागीय प्रमुख हुनुपर्छ । नेविसंघले अराजकता देखाउनुहुँदैन, हाम्रो माग मेरिटका आधारमा एक नम्बरमा रहेका पासाङ शेर्पा विभागीय प्रमुख हुनुपर्छ भन्ने हो ।’ 

पूर्वउपकुलपतिहरूको चिन्ता– त्रिविमा अराजकता झन् बढ्यो 
त्रिविका पूर्वउपकुलपतिहरूले पछिल्लो समय विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप र आतंक झन् बढेको भन्दै चिन्ता जनाएका छन् । राजनीतिक स्वार्थका लागि शैक्षिक धरोहर तहसनहस पार्ने काम भएको उनीहरूको गुनासो छ ।

‘त्रिविमा पहिलेभन्दा अराजकता बढेको छ, माथिबाट नै राजनीतीकरण गर्नुहुन्न भन्ने विचार छैन, त्यसले विद्यार्थी संगठनहरू अराजक बन्दै गएका छन्, राजनीतिक स्वार्थका लागि धरोहर संस्था बिगार्ने काम भइरहेको छ,’ पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘राजनीतिक विचारले विश्वविद्यालयमा ठाउँ नै पाउँदैन भन्ने होइन, छलफल, बहस हुन्छ, तर यो बढी भयो । यस्तो किसिमको राजनीतिक गतिविधिले राम्रो गर्दैन । त्रिविको विश्वास झन् कम हुन्छ ।’ उनले त्रिविमा राम्रा प्राध्यापक भए पनि राजनीतिक धब्बाले धमिलो बनेको बताए । 

अर्का, पूर्वउपकुलपति तीर्थ खनियाँले पनि त्रिविमा पहिलेको तुलनामा राजनीतिक दबदबा बढेको बताए । ‘माथिल्लो राजनीतिक नेतालाई समस्या परे विद्यार्थी सडकमा आउँछन्, त्रिविमा अहिले राजनीतीकरण बढेको छ, उच्च शिक्षा समाप्त हुन आँटेको खास कारण राजनीति नै हो । तर, मेरो पालामा मैले राजनीतीकरणलाई धेरै हदसम्म समाधान गर्ने कोसिस गरेको थिएँ,’ उनले भने, ‘भिसीले राजनीतिक कुरा बुझ्न सक्नुपर्छ ।’ 

शिक्षामन्त्रीले सामाजिक सञ्जालबाटै गरिन् सुरक्षाको माग

त्रिवि पदाधिकारीहरूलाई आएको धम्कीका विषयमा सत्तारूढ कांग्रेस र एमालेबीचको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । त्रिवि कुलपति प्रधानमन्त्री केपी ओलीकै पार्टी एमालेबाट शिक्षामन्त्री रहेकी विद्या भट्टराई सहकुलपति हुन् । पदाधिकारीहरूलाई धम्की दिने नेविसंघका नेता हुन् । मंगलबार बिहानै मन्त्री भट्टराईले त्रिवि पदाधिकारीहरूको सुरक्षाको प्रबन्ध मिलाउन सामाजिक सञ्जालबाटै गृहमन्त्री रमेश लेखकसँग माग गरेकी छिन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

को हुन् धम्की दिएको आरोप लागेका रावल ?
त्रिवि पदाधिकारीहरूलाई धम्की दिएको आरोप लागेका योगेन्द्र रावल नेविसंघका कार्यकर्ता हुन् । यसअघि धर्मकान्त बास्कोटा त्रिवि उपकुलपति हुँदा तालाबन्दीको विरोध गरेपछि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी भएको कुटपिटमा उनी संलग्न थिए । २० असोज ०७७ मा चलाउनेलाई रावललगायतको समूहले टाउकोमा रडले हानेर गम्भीर घाइते बनाएको थियो । उक्त घटनामा प्रहरीले रावल र हरि आचार्यलाई ज्यान मार्ने कसुर मुद्दामा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतले रावल र आचार्यलाई दुई–दुई वर्ष कैद र जनही २० हजार जरिवानाको सजाय तोकेको थियो । उपल्लो अदालतमा मुद्दा विचाराधीन रहेकै वेला कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा मुद्दा फिर्ता गरिएको थियो । पछि सर्वोच्च अदालतले मुद्दा फिर्ताको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरे पनि हालसम्म उनीहरू खुलेआम हिँडिरहेका छन् । उल्टै रावलले गृहमन्त्री रमेश लेखकसँगको फोटो सार्वजनिक गरेका छन् । 

आंतक मच्चाउनेमाथि कारबाही गर्न सात विद्यार्थी संगठनको माग
सात विद्यार्थी संगठनले त्रिविमा आतंक मच्चाउने र अराजक गतिविधि गर्नेमाथि कारबाही गर्न माग गरेका छन् । ‘संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामी त्रिविमा भइरहेको सरकार संरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सबै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरूमाथि आक्रमण गर्ने गुन्डाहरूलाई पक्राउ गरी कडा कारबाही गर्न विशेष माग गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी विश्वविद्यालयको प्राज्ञिक वातावरण बिगार्ने, प्राध्यापक, शिक्षक एवं कर्मचारीमाथि दुव्र्यवहार गर्ने र विश्वविद्यालयको सुशासनतर्फको यात्रालाई रोक्न गरिने जुनसुकै षड्यन्त्रका विरुद्ध सशक्त प्रतिरोध गर्ने स्पष्ट गर्दछौँ ।’ 

के भन्छन् विद्यार्थी नेता ?

समिक बडाल, अध्यक्ष, अनेरास्ववियु 
प्राध्यापक प्रेम चलाउनेलाई कुट्ने र दादागिरी गर्नेलाई अझै पनि ठाउँ दिन सकिँदैन । यस्ता गुन्डागर्दी गर्नेहरूले त्रिविलाई चुस्न पाइँदैन, नियमअनुसार कानुनी कारबाही गर्नुपर्छ । नियमअनुसार समाजशास्त्र विभागमा प्रमुख हुनुपर्छ । नेविसंघले अराजकता देखाउनुहुँदैन । हाम्रो माग पासाङ शेर्पा विभागीय प्रमुख हुनुपर्छ भन्ने हो ।

दुजाङ शेर्पा, अध्यक्ष, नेविसंघ
ठुलो संगठन भएकाले यस्ता सबै विवादबारे थाहा हुँदैन । कसैले केही कुरा राखेको पनि होला, त्यो अनौठो होइन । त्रिवि पदाधिकारी पनि खुला प्रतिस्पर्धाबाट आएका हुन् । सिनियारिटीका आधारमा नियुक्ति हुनुपर्छ भन्ने हाम्रो धारणा हो । हामी हाम्रो मागमा अडिग छौँ, हामीले भनेको हुनुपर्छ ।  

श्यामराज ओझा, स्ववियु सभापति, त्रिवि
प्रोपोगान्डा हो कि साँचो हो थाहा भएन, धम्की दिएको हो भने हामीलाई थाहा हुनुपर्छ । कहाँ, कसरी, कोबाट र किन आयो धम्की भन्ने कुरा हामीलाई थाहा दिनुपर्छ । पदाधिकारीहरूले आफ्नो असक्षमता लुकाउन विद्यार्थीलाई दोष दिने होइन ।

सुझावित समाचार