बाजुरा जिल्लाको बडिमालिका नगरपालिका– ६ जडांगामा करेन्ट लागेर दुईजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ।
कोर्धालीगाड लघुजलविद्युत् आयोजनाको तार मर्मतका लागि पोलमा चढ्ने क्रममा दुईजना घाइते भएका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए।
घाइते हुनेमा बडिमालिका– ६ कोर्धका २९ वर्षीय रूपक बडुवाल र बडिमालिका– ४ रिलाका २८ वर्षीय राजेन्द्र नाथ रहेका छन्। घाइतेमध्ये बडुवालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले धनगढी रिफर गरेको छ। राजेन्द्रको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
केन्द्रीय प्रसारणलाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने अनुमान गरिएको छ। बिहान साढे ८ बजेतिर करेन्ट लागेको हो। कोर्धालीगार्ड र केन्द्रीय प्रसारणलाइनको पोलनजिक र तार पनि एकले अर्कोलाई छोएको अवस्थामा छ।
उनीहरू नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराई पोलमा चढेको देखिएको छ। लघुजलविद्युत् आयोजनाको विद्युत् अफ भए पनि केन्द्रीय प्रसारणलाइनको विद्युत् बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।