टहरामा सुत्न नदिएको रिस फेर्न रिङ मिस्त्रीको हत्या

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

टहरामा सुत्न नदिएको रिस फेर्न एक युवाले सुनसरीको गढी गाउँपालिकामा  बालुवा र सिमेन्टको रिङ बनाउँदै आएका ज्ञानचन्द ऋषिदेवकाे हत्या गरेको खुलेको छ। गढी गाउँपालिका– २ सखुवारेका ३० वर्षीय युवा चन्दन ऋषिदेवले टिनको टहरामा सुत्न नदिएको रिस फेर्न सोही गाउँपालिका– ६ मा बस्दै आएका  ५० वर्षीय रिङ मिस्त्री ज्ञानचन्द ऋषिदेवको फरुवाले घाँटी काटेर हत्या गरेको खुलेको हो । 

ज्ञानचन्दको टाउको काटिएको शव सोमबार उनले सञ्चालन गर्दै आएको सोही गाउँपालिकाको २ नम्बर वडामा पर्ने थलाहास्थित रिङ उद्योगमा फेला परेको थियो। हत्याको सूचना पाएर जासुसी कुकुरसहित बिहान पुगेको प्रहरीले ऋषिदेवको शवको टाउको घटनास्थलदेखि ५० मिटर उत्तर–पश्चिम गुजाइटोकीमा  फेला पारेको थियो ।

सुनसरीका एसपी विपिन रेग्मीका अनुसार मिस्त्री ज्ञानचन्दले भाडामा सञ्चालन गर्दै आएको रिङ उद्योगभित्र रहेको  टिनको टहरामा आवारा युवा चन्दन ऋषिदेव राति सुत्दै आएका थिए। तर, ज्ञानचन्दले गाली गर्दै त्यहाँ सुत्न नदिएपछि रिसाएका चन्दनले राति निदाएको वेलामा फरुवाले घाँटी काटेर ज्ञानचन्दको हत्या गरेर टाउको अन्तै लगेर फालिदिएका थिए। 

टहरामा सुत्न नदिएको झोंकमा सोमबार राति ज्ञानचन्दको क्रूरतापूर्वक हत्या गरेपछि घटनास्थलमै रहेका चन्दनले लगाएको लुगामा रगतको टाटा देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्याको कारण खुलेको थियो। प्रहरीका अनुसार हत्या आरोपी चन्दन लागुऔषध सेवन गर्ने आवारा भएकाले उनी मनोरोगीझैँ एकोहोरो स्वभावका छन् ।  
 

सुझावित समाचार