कांग्रेस–एमाले सहमति षड्यन्त्र होइन : देउवा

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन सक्ने देउवाकाे भनाइ

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेबीचको सहमतिमा कुनै षड्यन्त्र नभएको बताएका छन् । कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसका अवसरमा मंगलबार आयोजित संवाद कार्यक्रममा उनले सबैसँगको सल्लाहमा संविधान संशोधन गरिने पनि बताए ।

‘संविधानमा केही कुरा संशोधन गर्ने ओलीजी र मेरोबिचमा सहमति भएको हो । यहाँ लुकाउनुपर्ने केही छैन,’ देउवाले भने, ‘यो षड्यन्त्र होइन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो ।’ उनले सबैले सहमति जनाए उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन सक्ने पनि बताए ।

‘राष्ट्रिय सभाको अध्यक्ष को हुने भन्ने कुरा छ । यदि सबैको सहमति हुन्छ भने उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष बन्ने व्यवस्था इन्डियामा पनि छ, अरू देशमा पनि छ,’ उनले भने, ‘त्यो नेपालमा पनि हुने सम्भावना छ ।’

एमाले महासचिव शंकर पोखरेलले नेपाली समाजमा राज्य र नागरिक जोडिन नसकेको बताए । नागरिक र राज्य नजोडिँदासम्म लोकतन्त्र सफल हुन नसक्ने उनको भनाइ थियो ।

‘जबसम्म नागरिक र राज्य जोडिँदैनन् तबसम्म लोकतन्त्र सफल हुन सक्दैन । कुनै पनि देश सफल हुन राज्य र नागरिकबीचको सम्बन्ध राम्रो हुन जरुरी छ,’ उनले भने, ‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन,’ पोखरेलले भने, ‘जसले चर्काे स्वर गर्छ, उसका पछि जनताहरू झुम्मिने अवस्था छ । यसले समाजलाई सही दिशा दिँदैन ।’

See More On

सुझावित समाचार