सत्तास्वार्थको बन्धक बनेको कोशी प्रदेश सभाको बैठक सञ्चालन हुने भएको छ। राजनीतिक अस्थिरताले गर्दा ८ असारदेखि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बर्खे अधिवेशनको बैठक १४ भदौदेखि आह्वान गरिएको छ।
सभामुख अम्मरबहादुर विष्टले पाँचौँ अधिवेशनको चौधौँ बैठक १४ भदौदेखि आह्वान गर्दै सूचना जारी गरेका प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
विपतको समयमा जनताको आवाज बोल्ने संसद् सत्तास्वार्थको बन्धक बनेको भन्दै मुख्य विपक्षी दल माओवादी केन्द्रले अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बर्खे अधिवेशन तुरुन्त बोलाउन माग गर्दै सरकार र सभामुखलाई दबाब दिँदै आएको थियो। सत्तारूढ दल नेकपा एमाले प्रदेश संसदीय दलले पनि स्थगित प्रदेश सभाको बैठक तुरुन्त बोलाउन मुख्यमन्त्री हिक्मतकुमार कार्की र सभामुख अम्मरबहादुर विष्टको ध्यानाकर्षण गराएको थियो।
मुख्यमन्त्री कार्कीले सत्तागठबन्धनमा रहेको कांग्रेसले मन्त्रीहरूको नाम टुंगो लगाउन नसक्दा सरकार पुनर्गठन हुन नपाएकाले स्थगित प्रदेश सभाको बैठक सञ्चालन गराउन नपाएको बताउँदै आएका थिए।
राजनीतिक अस्थिरताले गर्दा दोस्रो कार्यकालको १९ महिनामा प्रदेश सभाको पाँचवटा अधिवेशनमा दुई विशेषसहित ६२ वटा बैठक ११७ घण्टा मात्र बस्न सकेको छ। दर्ता भएका विधेयकहरू पनि पारित हुन पाएका छैनन्।