अफगानिस्तानमा अनौपचारिक शिक्षा विस्तार गर्न राष्ट्र संघका निकाय र नागरिक–सामाजिक संस्थाले मिलेर काम गर्नुपर्छ
तालिबान सत्तामा फर्केको तीन वर्षपछि र विश्व अन्य संकटबाट विचलित हुँदै गरेको अवस्थामा अफगानिस्तान अब बिरलै विश्वव्यापी समाचारको विषय बन्ने गर्छ । समाचार नआएकै कारण अफगानिस्तानलाई उपेक्षा गर्ने कुनै गल्ती भने कसैले पनि गर्नु हुँदैन । किनकि, यतिखेर आमअफगान विशेषतः बालिका र महिलाको अवस्था दर्दनाक हुने गरी अफगानिस्तानको अवस्था बिग्रँदै गइरहेको छ ।
अफगानिस्तान दशकौँको छद्म युद्धबाट विश्वको सबैभन्दा गरिब देशमध्ये एक बन्न पुग्यो । यसमाथि तालिबान शासनले अवस्थालाई थप बिकराल बनाएको छ । लाखौँ अफगानलाई आफ्नो अर्को छाक कहाँबाट आउँछ भन्ने थाहा छैन । देशको अर्थव्यवस्था रसातलमा पुगेको छ । यसबाहेक तालिबानको धार्मिक नेतृत्वले राष्ट्र संघले ‘लिंग–आधारित उत्पीडनको संस्थागत प्रणाली’का रूपमा वर्णन गर्ने गरी मानव अधिकार उल्लंघन गरिरहेको छ । यो प्रणालीगत दमनले सामाजिक संरचनालाई मात्र कमजोर बनाउँदैन, यसले दीर्घकालीन बहाली र स्थायित्वका सबै सम्भावनामा अवरोध पुर्याइरहेको छ । यो प्रणालीगत विभेदले बालिका र महिलाको विचरण गर्ने, अभिव्यक्ति दिने र संघसंस्था गठन गर्ने स्वतन्त्रतामाथि गम्भीर रूपमा प्रतिबन्ध लगाएको छ । यसअतिरिक्त महिलालाई लगभग सबै प्रकारका रोजगारीबाट बन्देज लगाइएको छ र न्यायमा यिनको पहुँचमा कटौती पनि गरिएको छ । सम्भवतः सबैभन्दा ठुलो चिन्ताको विषय तालिबानले माध्यमिक विद्यालयमा बालिकाको उपस्थितिमा प्रतिबन्ध लगाउनु हो । प्रतिबन्धका कारण भएको क्षतिले बालिकाको सम्पूर्ण पुस्ता र देशको भविष्य अधोगतितर्फ गइरहेको छ ।
मानव अधिकारको नांगो उल्लंघनका अतिरिक्त अफगान बालिका र महिलालाई शिक्षाबाट बहिष्कार गर्नु उल्लेखनीय रूपमा अदूरदर्शी कदम हो, किनभने शिक्षित महिलाको क्षमतालाई देशको पुनर्निर्माणमा उपयोग गर्न सकिन्थ्यो ।
अफगान संस्कृतिमा तालिबानको लैंगिक अपर्थाइड (विभेद) को कुनै आधार छैन र अफगानिस्तान एक मात्र मुसलमान मुलुक हो, जसले बालिका र महिलालाई शिक्षा हासिल गर्नबाट निषेध गर्छ । वास्तवमा सबैका लागि शिक्षा इस्लामको एक आधारभूत सिद्धान्त हो । हालै राष्ट्र संघकी उपमहासचिव अमिना जे मोहम्मदले पैगम्बर मोहम्मदको ‘ज्ञानको खोजी हरेक मुसलमानका लागि अनिवार्य छ’ भन्ने भनाइलाई उद्धृत गर्दै पुरुष एवं महिला र बालबालिकाका लागि शिक्षा अनिवार्य छ भनेर विश्वलाई स्मरण गराएकी थिइन् । कान्दहारका धर्मगुरुहरूले जे भने पनि देशभरका अफगान जनता आफ्ना सन्तानले शिक्षा पाएको हेर्न चाहन्छन् । तालिबानद्वारा लगाइएका गम्भीर प्रतिबन्धका बाबजुद धेरै परिवारले बालिकालाई सिक्ने अवसरमा पहुँच सुनिश्चित गर्न आफ्नो सुरक्षालाई जोखिममा पार्नेसमेत गरिरहेका छन् । दृढ स्वतन्त्रतागामी अफगानले आफ्नो परिवार, समुदाय र देशको कल्याणबारे गम्भीर रूपमा चिन्तन मनन गर्दै आएका छन् । वास्तवमा अफगानिस्तानमा शिक्षा र रिमोट–लर्निङ सेवा (दूरशिक्षा) प्रदान गर्ने संस्थाले माग पूरा गर्न संघर्ष गरिरहेका छन् । र, प्रतिबन्धबाट प्रभावित अफगान बालिकाको शक्तिशाली उत्साह ‘एजुकेसन क्यान नट वेट’को ह्यास ट्याग ‘अफगान गर्ल भोइसेस’ अभियानमा भएको सहभागिताले झल्काउँछ, अर्थात् यी बालिकाको अध्ययन गर्ने इच्छा दृढ रहेको छ ।
मैले सन् १९९० को प्रारम्भमा अफगानिस्तान बसेर काम गरेकी थिएँ र त्यसपछि त्यहाँ कैयौँपटक ओहोरदोहोर गरेकी छु । म सन् २००० मा तालिबानको पहिलो सरकारको दौरान र अगस्ट २०२१ मा तालिबानले सत्तामा पुनरागमन गरेको केही सातामै अफगानिस्तान पुगेकी छु । प्रत्येक भ्रमणले मलाई देशको परिवर्तनशील राजनीतिक परिदृश्य र त्यहाँको जनताको जीवनमा परेको गम्भीर प्रभावबारे अद्वितीय परिप्रेक्ष्य प्रदान गरेको छ । वर्षौंका दौरान अफगानिस्तानको उल्लेखनीय सांस्कृतिक र जातीय विविधताका (अफगानिस्तानमा ३० भन्दा बढी विभिन्न भाषा बोलिन्छन्) बाबजुद अफगान एकताले मलाई गम्भीर रूपमा प्रभावित गरेको छ । गौरव, नम्रता र सहिष्णुताको यो दुर्लभ संयोजन अफगान जनताको परिभाषित विशेषता हो । अफगान जनता कट्टरपन्थीहरूले गरेको मुलुकको एकात्मवादी चित्रणबाट धेरै पृथक् छन् ।
तालिबानको विभेदकारी नीतिको विरोध गर्ने धेरै अफगानले एजुकेसन क्यान नट वेटलाई समर्थन गर्छन् । यो संस्थाले देशका सबैभन्दा दुर्गम र असुरक्षित क्षेत्रमा हजारौँ समुदाय–आधारित कक्षा प्रदान गर्छ । स्थानीय समुदाय र रणनीतिक साझेदारसँग सहकार्य गरेर हाम्रा कार्यक्रम दुई लाखभन्दा बढी बालबालिका र किशोरकिशोरीसम्म पुगेका छन् । यो कार्यक्रमको लाभ लिनेमध्ये ६० प्रतिशत लाभार्थी बालिका छन् । यो पहलले चुनौतीपूर्ण परिस्थितिका बाबजुद महŒवपूर्ण शैक्षिक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।
हामीले मानव अधिकार उल्लंघन अन्त्यका लागि आह्वान जारी राख्दै अफगान बालिका र महिलालाई शिक्षामा पहुँच प्रदान गर्न यी प्रयासलाई थप सक्रिय बनाउनुपर्छ । अफगानिस्तानमा अनौपचारिक शिक्षा विस्तार गर्न राष्ट्र संघका निकाय र नागरिक–सामाजिक संस्थाले मिलेर काम गर्नुपर्छ । यो लक्ष्यलाई अगाडि बढाउन, सार्वजनिक र निजी क्षेत्रका दाताले तुरुन्तै अफगानिस्तानमा शिक्षा प्रदायकका लागि कोष बढाउनुपर्छ, ताकि यी संस्थाले समुदायमा आधारित शिक्षाको माग पूरा गर्न सकून् ।
हामीसँग खेर फाल्नका लागि समय छैन । बालिकाको सम्पूर्ण पुस्ता शिक्षाबाट वञ्चित हुने जोखिममा छ । र, सम्पूर्ण देशको भविष्य इस्लाममा कुनै आधार नभएका आदेशबाट खतरामा परेको छ ।
(सेरिफ एजुकेसन क्यान नट वेटकी कार्यकारी निर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट