दुर्लभ वन्यजन्तु तस्करी ः सालकको खपटासहित पाँचजना पक्राउ

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटा तस्करी गर्ने गिरोहका पाँचजनालाई पक्राउ गरेको छ। मोटरसाइकलमा लुकाएर तस्करी गर्न खोज्ने दुईजनालाई मोरङको  पथरीबाट र तीनजनालाई उदयपुरबाट जम्मा चार केजी ५८४ ग्राम खालकको खपटासहित प्रहरीले  पक्राउ गरेको हो । 

मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरीबाट शनिबार मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा मोरङ बबियाबिर्ताका ४५ वर्षीय गगनकुमार गच्छेदार र सप्तरी कञ्चनपुरका ३५ वर्षीय वासुदेव सरदार ८५० ग्राम सालकको खपटासहित पक्राउ परेका थिए । 

अनुसन्धानका क्रममा दुर्लभ वन्यजन्तु सालकको खपटा तस्करी गर्ने गिरोह नै रहेको खुलेपछि उनीहरूकै सूचनाको आधारमा पक्राउ गर्न मोरङबाट प्रहरी टोली खटिएको थियो। उक्त टोलीले उदयपुरको बेलका नगरपालिका– ३ रामपुर ठोक्सिलास्थित गिदेरी खोला बगरबाट दुईवटा मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा चार केजी ५८४ ग्राम  सालकको खपेटासहित सोही ठाउँका ४८ वर्षीय कृष्णराज मगर, ५६ वर्षीय डिकबहादुर पूर्वछाने मगर र सप्तरी अग्निसायर कृष्णनगरका  ५५ वर्षीय उमेशप्रसाद चौधरीलाई आइतबार पक्राउ गरेको हो ।   

२५ साउनमा  मोरङको कानेपोखरीबाट  सुन्दरहरैँचा नगरपालिका–  ११ का ४० वर्षीय दीपक चौधरी दुर्लभ टोक्यो प्रजातिको कालो छेपारोसहित पक्राउ परेका थिए । पक्राउ परेको सालकको खपटा र छेपारो सम्बन्धित वन कार्यालयमा बुझाएको र तस्करीमा संलग्न मानिसलाई वन्यजन्तु ओसारपसार ऐन कसुरमा कानुनी कारबाही चलाएको मोरङ प्रहरीले जनाएको छ।  
 

सुझावित समाचार