दस्ताबेज तयार पार्न समाजवादी मोर्चालाई सकस

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

समाजवादी मोर्चालाई राजनीतिक दस्ताबेज तयार पार्न सकस परेको छ । १५ दिन समय पाएको मोर्चाको कार्यदलले एक महिना बित्दासमेत दस्ताबेज तयार पार्न सकेको छैन । दस्ताबेज निर्माणको काम जारी रहेको कार्यदल सदस्य एवं माओवादी महासचिव देव गुरुङले जानकारी दिए । 

दस्ताबेजमाथि छलफल गर्न आइतबार बस्ने भनिएको कार्यदल बैठक पनि स्थगित भएको छ । कार्यदल संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको गुरुङले बताए । बैठक माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको थियो । अब सोमबार दिउँसो ३ बजे बैठक बस्ने उनले बताए । ‘अब भोलि बैठक बस्छ । बैठकले दस्ताबेजलाई अन्तिम रूप दिएपछि शीर्ष नेताको बैठकमा पेस गरिन्छ,’ उनले भने । 

कार्यदलले तयार पार्ने दस्ताबेजका आधारमा मोर्चाले भावी कार्यक्रम तयार गर्ने तयारी गरिएको छ । मोर्चालाई प्रभावकारी बनाउँदै पार्टी एकतासम्म जाने रणनीति रहेको नेताहरूले दाबी गरेका छन् । ४ असार ०८० मा माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल र नेकपा सम्मिलित चारदलीय मोर्चा घोषणा गरिएको थियो । तर, हाल जसपा नेपाल समाजवादी मोर्चाबाट अलग्गिएको छ भने नेसपा भित्रिएको छ । विगतको समीक्षा र आगामी कार्यक्रम तय गर्न खड्काको संयोजकत्वमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल र नेसपाबाट गंगानारायण श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरिएको थियो । 

विगतका निर्णय अलपत्र
समाजवादी मोर्चाका नारा देशव्यापी प्रचारप्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पु¥याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीसँग केन्द्रीयस्तरको अन्तक्र्रिया गर्ने, प्रदेशस्तरमा विचार–गोष्ठी गर्ने निर्णय अलपत्र परेको छ । नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ ।

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि मोर्चाका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएका छन् ।
 

सुझावित समाचार