मालिकाको पहिरो प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

गुल्मीको मालिका गाउँपालिकाले पहिरो प्रभावितको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। सबैभन्दा बढी प्रभावित मालिका गाउँपालिका– २ दर्लिङका नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको हो।

गुल्मी अस्पतालमा कार्यरत डाक्टर सिद्धिराज ज्ञवाली र प्रतीक्षा केसीले १७६ जना पहिरो प्रभावितहरूको स्वास्थ्य परीक्षण गरेका मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए। पहिरोले थुप्रै बारी बगाउने र खेत पुर्ने गरेका कारण खाद्यान्नमा ठूलो क्षति पुगेको छ।

मालिका गाउँपालिकाको दर्लिङमा ४३ घरपरिवार पहिरोको जोखिममा छन्। पहिरोका कारण ११ घर पूर्ण रूपमा विस्थापित भएको र २८ घरपरिवारले साँझमा घर छोड्ने गरेको मालिका गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए।

पहिरोबाट भैँसी तीन र गोरु दुईवटा मरेका छन् भने चार घर पूर्ण रूपमा क्षति भएको पौडेलले बताए। पहिरोले खानेपानीको तीन हजार आठ सय मिटर पाइप बगाएको छ। पहिरोबाट विस्थापित परिवार स्थानीय स्वास्थ्य केन्द्र र छिमेकीकोमा बस्दै आएका छन्। च्यानडाँडा माविको नौकोठे भवन पनि पहिरोले क्षति पुर्याएपछि सयौँ विद्यार्थी जोखिम मोलेर अध्ययन गरिरहेका छन्।

सुझावित समाचार