लमजुङमा गत आर्थिक वर्ष ०८०/८१ मा करिब ३७ हजारभन्दा बढी मेट्रिकटन आलु उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानमा गरी दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको हो ।
त्यसैगरी, आर्थिक वर्ष ०७९/८० मा दुई हजार ६ हेक्टर क्षेत्रफमा २१ हजार नौ सय ३९ मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञानकेन्द्र लमजुङका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजयराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार आर्थिक वर्ष ०७९/८० मा प्रतिहेक्टर ११ टन आलु उत्पादन भएको थियो भने आर्थिक वर्ष ०८०/८१ मा प्रतिहेक्टर १६.५७ टन आलु उत्पादन भएको छ ।
गत आर्थिक वर्षदेखि जिल्लाका चार स्थानीय तहमा खायन जातको आलुखेती विस्तार कार्यक्रम सुरु भएको छ । कार्यक्रम सञ्चालन भएसँगै जीविकोपार्जनका लागि निर्वाहमुखी खेती–किसानी गर्दै आएका कृषक व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका हुन् ।
सामान्यतया घरायसी प्रयोजनका लागि आलु लगाउँदै आएका कृषकले गत आर्थिक वर्षमा व्यावसायिक आलुखेती गरेसँगै आलु उत्पादनमा वृद्धि भएको छ । रैथाने आलु र उन्नत जातको आलुको उत्पादन बढी हुने भएकाले प्रदेश सरकारले नै गत आर्थिक वर्षदेखि खायन आलुको उत्पादन बढाउने गरी कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत कृषकलाई उन्नत जातको आलुको बिउ उपलब्ध गराउने, सिँचाइ सामग्री उपलब्ध गराउने, आलु लगाउने प्रविधि हस्तान्तरण गर्दै आएको छ ।
गत आर्थिक वर्षमा कृषि ज्ञानकेन्द्रमार्फत जिल्लाको राइनास नगरपालिका– ३, ४ र ६, मध्यनेपाल नगरपालिका–४ र १०, सुन्दरबजार नगरपालिका–१० अन्तर्गत आठवटा कृषक समूहसँग सम्झौता भई काम भएको थियो । कृषि ज्ञानकेन्द्र लमजुङका अनुसार आलु उत्पादनमा लमजुङ आत्मनिर्भर रहेको छ । लमजुङका विभिन्न स्थानमा लगाइएको आलुले राम्रो उत्पादन दिएपछि किसान खुसी भएका छन् ।