नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने जिम्मेवारी पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रतियोगिता आयोजना गर्न जिम्मेवारी दिएको क्यानका सचिव पारस खड्काले जानकारी गराएका छन् । क्यानका अनुसार छनोटका खेलहरू १२ देखि २१ अप्रिल २०२५ सम्म हुनेछ । क्यानले प्रतियोगिता कीर्तिपुरको त्रिवि मैदान र मूलपानी माथिल्लो मैदानमा गर्ने तयारी गरेको छ । हाल नेपालमा रहेका यी दुई क्रिकेट मैदान मात्रै अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुन् । छनोटमा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएई सहभागी हुनेछन् । छनोटको विजेताले विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु–१९ विश्वकप क्रिकेटमा स्थान बनाउनेछ ।
उमेरसमूहको विश्वकपमा भारतले सर्वाधिक पाँचपटक उपाधि जितेको छ । अस्ट्रेलियाले ४, पाकिस्तानले २ तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्डले समान एकपटक ट्रफी उचालेका छन् ।
विश्वकपमा १६ टिम हुने
आइसिसीका अनुसार जिम्बाब्वे र नामिबियामा हुने प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । ४१ खेल हुने प्रतियोगितामा आयोजक जिम्बावे र दस टेस्ट राष्ट्रले सीधै विश्वकपमा स्थान बनाएका छन् । क्षेत्रीय छनोटबाट पाँच टोलीको स्थान पक्का हुनेछ ।
गत वर्ष युएईलाई हराएर नेपाल छनोट
सन् २०२४ दक्षिण अफ्रिकामा भएको विश्वकपमा नेपालले युएइलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो । समूह ‘डी’मा नेपालले पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग खेलेको थियो । न्युजिल्यान्डसँग ६४ रन, पाकिस्तानसँग ५ विकेटले पराजित नेपालले अफगानिस्तानलाई भने एक विकेटले हराएको थियो । फाइनलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको थियो ।