सोलुखुम्बुमा बाढीको बबन्डर : थामेका १४ घर, होटेल, विद्यालय बगे, एकजना बेपत्ता

विज्ञसहित प्राधिकरणको टोली आज थामे जाने

शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण

हिमाली जिल्ला सोलुखुम्बुमा बाढीले वितण्डा मच्चाएको छ । तीन दिनदेखि निरन्तर वर्षा भइरहेकामा शुक्रबार एक्कासि दुधकोशी नदीको सहायक थामे खोला उर्लिएर आएपछि खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामे गाउँका १४ घर, होटेल, विद्यालय बगाएको छ । 

सोलुखुम्बुका डिएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार सातवटा घर, पाँच होटेल तथा एउटा–एउटा क्लिनिक र विद्यालय बगाएको हो । परिचय खुल्न नसकेका एकजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सात घर उच्च जोखिममा छन् । थामे गाउँमा करिब ५० घर छन् । विस्थापितहरू माथिल्लो क्षेत्रमा रहेका गुम्बामा बसेका छन् । सरकारले राहत पुर्याउन सकेको छैन । 

दिउँसो २ बजे एक्कासि लेदोसहितकोे बाढीले तल्लो तटीय क्षेत्रको बस्तीमा पनि जोखिम निम्त्याएपछि स्थानीयलाई अन्यत्र सारिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । उनका अनुसार दिउँसोको तुलनामा बाढी केही घटेको छ । बाढी आउनुको कारण खुलेको छैन । ‘कुनै पूर्वानुमान र सूचना थिएन, एक्कासि बाढीले क्षति गरेको छ,’ प्रजिअ पाण्डले भनिन्, ‘हिमताल फुटेको हो वा हिमपहिरो हो खुलेको छैन ।’

बाढीले माप्य दुधकोशीको सिमानामा रहेको मितेरी पुल बगाउँदा खुम्बु पाासाङल्हामु गाउँपालिकासँग सीधा सम्पर्क टुटेको छ । त्यहाँँ सवारीमार्फत आउने–जाने अवस्था छैन । ‘पालिकाबाट हिँडेर बाढी प्रभावित गाउँमा पुग्न १० घण्टा लाग्छ । बाटो पनि राम्रो नभएको, हेलिकोप्टरको प्रयोग गरेर जानु र राहत लग्नुको विकल्प छैन,’ खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने, ‘काठमाडौंबाट हेलिकोप्टर मगाएर प्रभावितलाई राहत र पुनस्र्थापनाको काम थालिनेछ ।’

साँझबाट खोलामा पानीको सतह घट्न थालेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाका अनुसार यस क्षेत्रमा तीन दिनदेखि वर्षा भइरहेको थियो । ‘दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, खोलामा बहाव बढेपछि सबैले घर छाडे,’ उनले भने । बाढीले दुधकोशी नदी बहने क्षेत्रका बासिन्दा त्रसित छन् । 

विज्ञसहित प्राधिकरणको टोली आज थामे जाने
थामे बाढीको प्रारम्भिक अध्ययनका लागि विज्ञसहित विपत् व्यवस्थापन प्राधिकरणको टोली आज (शनिबार) त्यसतर्फ जाने भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, भूगर्भविद्, जलस्रोतविद् र मौसमविद्कोे टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत जान लागेको हो । 

कार्यकारी प्रमुख पोखरेलका अनुसार वर्षाकै कारणले मात्र बाढी आएको होइन । ‘तर, हिमपहिरो, हिमताल विस्फोट वा अन्य कारणले आएको हो भनेर अध्ययनपछि मात्र पत्ता लाग्नेछ,’ उनले भने । अहिले प्रारम्भिक अध्ययनका लागि टोली जान लागेको भए पनि विस्तृत अध्ययन भने सम्भवतः प्राधिकरण, खानी तथा भूगर्भ विभाग र जल तथा मौसम विज्ञान विभागले संयुक्त रूपमा गर्नेछन् । 

आइपिसिसीको प्रतिवेदन भन्छ– हिमाली भेग र नेपाल उच्च जोखिम क्षेत्रमा 
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)ले सन् २०२१ मा सार्वजनिक गरेको ‘द फिजिकल साइन्स बेसिस अफ क्लाइमेट चेन्ज’ प्रतिवेदनमा जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित हुने क्षेत्रमा दक्षिण एसिया समावेश छ । २०औँ शताब्दीको बीचबाट दक्षिण एसियाली क्षेत्रमा मनसुनी वर्षा घटेको पाइएको छ । यद्यपि, २१औँ शताब्दीको अन्त्यसम्ममा मनसुनी वर्षा बढ्ने तथ्यांकले संकेत गरेको छ । भविष्यमा हिउँदे वर्षा घट्दै जानेछ । 

अध्ययनले औसत दैनिक न्यूनतम र अधिकतम तापमान बढेको देखाएको छ । मनसुनपूर्वको समयमा लुजस्तो अत्यधिक तातो हावा बढ्ने र मनसुनी समयमा अधिक पानी परेर बाढीपहिरोको प्रकोप पनि उत्तिकै बढ्ने चेतावनी दिइएको छ । तापमान वृद्धिका कारण हिन्द–कुश र हिमालय क्षेत्रमा हिउँ पग्लिने तथा हिमताल फुट्ने सम्भावना बढेको पनि प्रतिवेदनमा उल्लेख छ । यो अवस्थामा तल्लो क्षेत्रका बस्ती बाढी तथा पहिरोको जोखिममा रहनेछन् । योसँगै दक्षिण एसियामा हिमपात कम हुने र वर्षा धेरै हुने पनि अध्ययनले देखाएको छ । यी प्राकृतिक असरबाहेक मानव स्वास्थ्यलाई पनि प्रतिकूल हुने अवस्था आउनेछ । 

सन् २०१५ मा पेरिसमा भएको कोप सम्मेलनले विश्वव्यापी औद्योगिक तापक्रम वृद्धिलाई सन् २१०० सम्म औसत १.५ डिग्रीभन्दा माथि जान नदिन कोसिस गर्ने तथा दुई डिग्रीभित्र राख्ने सहमति गरेको थियो । तर, शक्तिराष्ट्रहरूको अनिच्छाका कारण यो दीर्घकालीन लक्ष्य हासिलका लागि ठोस कदम अगाडि बढेको छैन । नेपालको वार्षिक तापक्रम वृद्धिदर औसत ०.०५६ डिग्री सेल्सियस छ, जसले हिमालमा हिउँको भण्डार झन्डै २९ प्रतिशतले घटेको छ भने हिमतालको संख्या ११ प्रतिशतले बढेको छ । नेपालको अधिकतम तापक्रम वृद्धि प्रतिवर्ष ०.०८६ डिग्री सेल्सियस रहेको तथ्यांक जल तथा मौसम विज्ञान विभागको छ ।

इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र त्यसको जोखिमबारे ०७७ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ४७ वटा जोखिमयुक्त हिमताल पहिचान गरी ३१ वटालाई उच्च जोखिमयुक्त भनिएको थियो । ती ४७ मध्ये २५ वटा चीनको तिब्बतमा तथा २१ वटा नेपालमा र एउटा भारतमा छन् ।

मेलम्ची बाढीको अध्ययन गरेका भूगर्भशास्त्री शिवकुमार बास्कोटा भन्छन्– मेलम्ची र थामे बाढी मिल्दोजुल्दो छ 
१ असार ०७९ मा सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी र अहिले सोलुखुम्बुको थामेमा आएको बाढी मिल्दोजुल्दो छ । प्रकृति र स्रोत (हिमताल, गेग्रान) मिल्छ । प्रस्ट कारण त अध्ययनपछि भन्न सकिएला, तर अहिले हेर्दा हिमताल वा ताल फुटेर पानीको बहाव बढेर बाढी आएको हुन सक्ने देखिन्छ । थामेभन्दा माथि ठूलो हिमताल छ । हिउँ पग्लिएर ससाना पोखरी पनि बनेका छन् । ठूलो पानी परेर कुनै ताल फुट्न गई पानीको बहाव बढेको हुन सक्छ । हिमताल नै फुटेको पनि हुन सक्छ । यस्तो ठाउँमा प्रसस्त गेग्रान हुन्छ । नदीमा पानीको बहाव बढ्दा पुरानो थुप्रेर बसेको गेग्रान बगााउँछ । खोलामाथि पनि गेग्रान थुप्रिएर बसेको हुन्छ । यस्तो गेग्रान बाढीले सँगै सोहरेर लगेको हुन सक्छ । गेग्रानमाथि पहिरो खसेको पनि हुन सक्छ । मेलम्ची बाढी पनि कुनै एउटा कारणले नभई बहुप्रकोपबाट सिर्जित थियो । 

जलवायु प्रकोपविज्ञ श्रीकमल द्विवेदीको ठम्याइ– ‘र्यापिड मेल्टिङ’ले थामेमा बाढी
पहिले हिमाली क्षेत्रमा हिमताल फुटेर वा हिमपहिरोले बाढी आयो भनिन्थ्यो । तर, थामेको बाढी र्यापिड मेल्टिङ (तीव्र गतिमा हिउँ पग्लिँदा) निम्तिएको हुन सक्छ । बाढीको फुटेज हेर्दा सेडिमेन्ट बहाव (बालुवासहितको बाढी) देखिन्छ । थामेभन्दा माथि तीनवटा हिमताल छन् । तालभन्दा माथि नै र्यापिड मेल्टिङ भएको हुन सक्छ । यस क्षेत्र (स्याङ्बोचे विमानस्थल) मा १५ दिनमा १४८ मिलिमिटर पानी परेको छ । हिमाल हिउँ पर्ने क्षेत्र हो, तर निरन्तर पानी परेको छ । सायद धेरै पानी परकाले जमिनको माटो बगाएको हुन सक्छ । माटो, गेग्रान तालमा खसेर ओभरफ्लो भएको हुन सक्छ । यसलाई विश्वव्यापी तापमान वृद्धिसँग जोडर हेर्न सकिन्छ । छिटोछिटो पग्लिनु र बाढी निम्तनुमा तापमान वृद्धि नै कारक हो ।

सूचनाले मानवीय क्षति हुन रोक्यो : जगतप्रसाद भुसाल, प्रमुख प्रशासकीय अधिकृत, खुम्बु पासाङल्हामु गाउँपालिका
तिब्बतमा शुक्रबार भूकम्प गएको र त्यसको असरले नेपालतर्फका हिमताल फुटेको हुन सक्ने आकलन गरिएको छ । दिउँसो एक्कासि ठूलो आवाजसहित बस्तीभन्दा माथिबाट लेदोसहितको बाढी आयो । गाईवस्तु चराउने जंगलमा रहेका, किसान खेतबारीमै रहेका र बालबालिकासमेत विद्यालयमा थिए । माथिबाट बाढी आइरहेको हल्ला भएपछि सबै उच्च भागमा लागे । होहल्ला गरेर एक–अर्कामा सूचना दिएपछि थामे गाउँमा मानवीय क्षति भएन । हामीले जानकारी पाउनासाथ विभिन्न माध्यमबाट सतर्क रहन अपिल गरेका कारण तल्लो क्षेत्रमा थप क्षति हुन पाएन । 

मौसम विभागको निष्कर्ष : लगातार वर्षासँगै तापक्रम वृद्धि भइरहेका वेला हिमपहिरो वा हिमताल विस्फोटले बाढी
हिमपहिरो वा हिमताल विस्फोटमध्ये एउटा कारणले थामेमा बाढी आएको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक निष्कर्ष छ । महानिर्देशक डा.जगदीश्वर कर्माचार्यले भने, ‘वर्षाले मात्र बाढी आएको होइन ।’ थामे खोला जलाधार क्षेत्रको माथिल्लो तटीय क्षेत्रमा ६ वटा हिमताल/हिमपोखरी छन् । नजिकैको फोर्त्से केन्द्रमा सात दिनमा ६५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । २५ साउनदेखि दैनिक औसत तापक्रम वृद्धि पनि देखिन्छ । ‘२५ साउनमा ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस तापक्रम देखिन्छ । ३१ साउनको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस पुगेको देखिन्छ,’ विभागले प्रारम्भिक जानकारी दिँदै भनेको छ । 

बाढीका कारण ८२ किलोमिटर पर खोटाङस्थित दुधकोशी रबुवाबजार बाढी मापन केन्द्रमा साँझ ५ः१० मा जलसतह ४.२९ मिटरबाट ३० मिनेटमा एक्कासि बढेर ५ः५३ मिटर पुगेको थियो । ‘दुधकोशी र सहायक खोला थामेमा सलसतह मापनका लागि सोलुखुम्बुमा स्टेसन छैन, तर ८२ किलोमिटर पर पनि बहाव उच्च देखिन्छ,’ विभागका हाइड्रोलोजिस्ट सुनित अधिकारीले भने । 

सुझावित समाचार