पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका– ३ बरमझियामा आज तेल बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलचालक सुनसरीको हरिनगरा गाउँपालिका– ३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहता छन्।
महेशको घटनास्थलमा नै मृत्यु भएको तथा घाइते जयप्रकाशको कञ्चनरूप– १२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।
पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को. १ख ७४१४ नम्बरको तेल बोक्ने ट्यांकरले पूर्वबाट पश्चिम आउँदै गरेको प्र १– ०२०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
घटनामा ट्यांकरचालक सिराहाको कर्जना नगरपालिका– ३ का अन्दाजी ३२ वर्षीय मिथलेश यादवसमेत घाइते भएका छन्। उनको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। (रासस)