बाजुराको त्रिवेणी नगरपालिकास्थित बडिमालिका सुदूरपश्चिम प्रदेशकै आकर्षक धार्मिक र पर्यटकीय स्थल हो । समुद्र सतहबाट चार हजार दुई सय १६ मिटर उचाइमा रहेको बडिमालिका मन्दिरले पर्यटकीय विकासको अति नै सम्भावना बोकेको छ ।
नेपाल एकीकरणको लगत्तैजसो पृथ्वीनारायण शाहको पालादेखि नै पूजाआजा सुरु भएको बडिमालिका मन्दिरमा हरेक वर्ष साउने चतुर्दशीको दिन लाग्ने मेलामा मुलुकका अधिकांश जिल्लाका दर्शनार्थी पुग्ने गरेका छन् ।
यस वर्ष यही भदौ २ गते चतुर्दशीको दिनमा लाग्ने मेलामा आन्तरिक तथा बाह्य दर्शनार्थीहरू आउन थालेका स्थानीय रामबहादुर अयडीले बताए ।




