बलात्कार मुद्दाका आरोपी ८६ वर्षीय वृद्ध धरौटीमा छुटे, दुई पुरुष जेल चलान

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

ओखलढुंगामा बौद्धिक अपांगता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ८६ वर्षीय वृद्ध धरौटीमा छुटेका छन् । बौद्धिक अपांगता भएकी २१ वर्षीया युवतीलाई तीन व्यक्तिले फरक–फरक मितिमा बलात्कार गरेको आरोपमा प्रहरीले ५१, ६३ र ८६ वर्षका तीन पुरुषलाई पक्राउ गरेको थियो ।

उनीहरूमध्ये ५१ वर्षका केशरप्रसाद बास्तोला र ६३ वर्षीय नन्दलाल गौतमलाई पुर्पक्षका लागि जेल चलान गरिएको र ८६ वर्षका वृद्ध कपिलमणि गौतमलाई धरौटीमा छाडिएको हो। बलात्कृत युवती गर्भवती भएपछि घटना सार्वजनिक भएको थियो । 

बलात्कृत युवतीलाई गर्भपतन गराउन काठमाडौं पठाएपछि कानुनी सजाय र सामाजिक आलोचनाबाट बच्न आरोपीमध्येका केशरप्रसाद बास्तोलाले आफैँलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर हत्याको प्रयास भएको हल्ला चलाएका थिए । 

साउन ७ गते राति ११:३० बजेको समयमा अपरिचित तीनजना व्यक्ति आएर घरनजिकैको झोलुंगे पुलमा लगी नगद लुटेको, धारिलो हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिटसमेत गरी मोलुङ खोलामा फ्यालिदिएको बताएका बास्तोलाले अन्ततः बलात्कार घटनाबाट जोगिन आफैँले आत्महत्या प्रयास गरेको खुलेको थियो ।  

अज्ञात समूहले आफ्नो हत्या प्रयास गरेको उनको सुरुवाती बयानका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाटै उनले बलात्कार घटनालाई विषयान्तर गर्ने उद्देश्यले आफैँलाई हतियार प्रहार गरी घाइते बनाएको खुलेपछि प्रहरीले विस्तृत अनुसन्धान गरेर कानुनी कारबाही सुरु गरेको र बलात्कारको मुद्दाबाट बच्न आत्महत्याको नाटक गर्ने बास्तोलासहित दुईजनालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी प्रमुख कृष्ण खड्काले जानकारी दिए । 

ओखलढुंगा जिल्ला अदालतले घटनामा संलग्न दुईजनालाई पुर्पक्षका लागि जेल चलान गर्ने र ८६ वर्षीय वृद्धलाई अनुसन्धानको दायरमा रहने गरी धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । धरौटी बुझाएर रिहा भएपछि आफन्तको साथ लागेर ८६ वर्षीय वृद्ध घर फर्किएका छन् ।  

घटना यस्ताे थियाे
युवती गर्भवती भएको खुलेपछि परिवार तथा आफन्त सोधखोजमा जुटेका थिए । युवतीले केशरप्रसाद बास्तोलाबाट आफू बलात्कारमा परेको सुनाएकी थिइन् । पीडित पक्षले केरकार गरेपछि गौतमले घटना स्वीकार गरेका थिए । पीडित परिवार, आफन्तसहितको भेलाले गौतमले खर्च व्यहोर्ने सर्तमा युवतीको गर्भपतन गराउने निर्णय गरेको थियो । 

गर्भपतन गराउन गत असार ६ गते युवतीलाई काठमाडौं पठाइएको थियो । तर, अस्पतालले गर्भपतन गर्नुअघि प्रहरीको सहमति लिनुपर्ने बताएपछि घटना बाहिर आएको हो । पीडकले प्रहरीमा नजान पीडित पक्षलाई दबाब दिए पनि अस्पतालले प्रहरीको सहमतिविना गर्भपतन नगराउने अडान लिएपछि अन्ततः प्रहरीसँग सहमति लिएरै गर्भपतन गराइएको खुलेको छ । बलात्कारको घटनामा प्रहरीको सहमति लिएर मात्रै अस्पतालले गर्भपतन गराउने नियम छ । 

घटना गाउँभर फैलिने भयले पीडक गौतमले मुद्दा विषयान्तर गर्ने जुक्ति निकालेर घरमै भएको धारिलो चक्कुले आफ्नै शरीरमा घाउचोट बनाएर साउन ६ गते  राति करिब ११:३० बजे जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा फोन गरेर ‘मानेभञ्ज्याङ गाउँपालिका– ९, मोलुङ खोलास्थित झोलुंगे पुलमा नकावधारी तीन अपरिचितले अधबैँसेलाई अपहरण गरे । धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाए । भएको रकम लुटपाट गरेर घाइतेलाई झोलुंगे पुलबाट खोलाको किनारमा फालिदिए’ को आफैँले बताए । 

मध्यराति सूचना आएपछि तुरुन्तै घटनास्थलमा मानेभञ्ज्याङबाट प्रहरी टोली परिचालन भएको थियो । थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक विजय कार्कीसहितको टोली गएको थियो । प्रहरीमा आएको सूचनाअनुसार एक अधबैँसे पुरुष (केशरप्रसाद बास्तोला) घाइते अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको थियो । 

घाँटी, हात, खुट्टा, छाती र भुँडीमा धारिलो हतियारको गम्भीर चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । त्यही वेला उनकै गाउँकी युवतीको काठमाडौंमा गर्भपतन भएको सूचना प्रहरीले पायो । दुई फरक घटनाबीच आपसी सम्बन्ध हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थाल्यो । छोटो अनुसन्धानमै प्रहरीले दुई घटना सम्बन्धित रहेको पत्ता लगायो । प्रहरीसँगको बयानमा घटना आफैँले घटाएको बास्तोलाले स्वीकार गरे र युवतीले बास्तोलासहित तीन पुरुषको नाम पोलिन् । युवतीको बयानका आधारमा तीनैजना पुरुष अनुसन्धानमा तानिए । बलात्कारका आरोपित तीनमध्ये दुईजना  जेल र एकजना घर गएका छन् । 

प्रहरीका अनुसार गर्भपतन गरिएको नवजात शिशुको डिएनए परीक्षण रिपोर्ट आउन बाँकी छ । गर्भ कसको हो भन्ने रिपोर्ट आएपछि मात्रै खुल्नेछ ।

सुझावित समाचार