जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई अभियानमा खटाएको छ।ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत संगठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । 

‘पार्टीका २१५ केन्द्रीय सदस्यलाई देशभरिका विभिन्न पालिका समितिको अभियन्ताको रूपमा खटाएको हो,’ उनले भने, ‘सबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म संगठनको सञ्जाल विस्तार गर्ने अभियानको उद्देश्य रहेको छ ।’ 

अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने एवं पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनका लागि खटाइने सो पार्टीले जनाएको छ । तोकिएका अभियन्तालाई प्रदेशस्तरिय अभिमुखीकरणको आयोजना गरिने जनाइएको छ । 

विराटनगरमा आगामी भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगन्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगन्जमा भदौ २४ गते, पोखरामा भदौ २५ गते र टीकापुर तथा धनगढीमा भदौ २५ गते प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम हुने केन्द्रीय सदस्य बस्नेतले बताए । 

उनका अनुसार अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्य, अभियन्ता, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्य, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा जनसंगठनका पदाधिकारी सहभागी हुनेछन् । उक्त अभियान भदौदेखि सुरु भई मंसिर मसान्तसम्म सञ्चालन हुनेछ ।

सुझावित समाचार