०७५ साउन १ गतेदेखि खारेज भएको भूसंरक्षण कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालयको नामले महोत्तरीमा पुनः स्थापित भएको छ। बुधबार वन तथा वातावरणमन्त्री त्रिभुवन साहले महोत्तरी र धनुषा जिल्ला हेर्ने गरी सो कार्यालयको जलेश्वरमा उद्घाटन गरेका छन् ।
सोही समय जिल्ला कार्यालयको रूपमा भूसंरक्षण, चुरे संरक्षण, नदी उकास जग्गा व्यवस्थापन, पानी मुहान संरक्षण, भूमि उत्पादकत्व व्यवस्थापन, क्षतिग्रस्त भूमि व्यवस्थापन, गल्छी पहिरो नियन्त्रण र खोला किनार संरक्षण तथा व्यवस्थापन हेर्दै आएको भू संरक्षण कार्यालयले पुनः भू तथा जलाधार व्यवस्थापन कार्यालयको नामबाट सोही कार्य गर्ने गरी स्थापित भएको हो ।
वन तथा वातावरणमन्त्री साहले संघीयतापछि मधेश प्रदेशको दुई जिल्लामा आठवटै जिल्ला हेर्ने गरी सो कार्यालय रहेको बताउँदै व्यापक जनगुनासोपछि सेवा विस्तार गर्दै हाललाई थप दुई जिल्ला र पछि आठवटै जिल्लामा कार्यालय खुल्ने उनले बताए।
उनले यस कार्यालयको जिम्मेवारीमा अति नै महत्त्वपूर्ण कार्य भएकोमा महोत्तरी सदरमुकाम जलेश्वरमा कार्यालय खुलेपछि भू तथा जलाधारसम्बन्धी समस्या भएका जनतालाई लाभ मिल्ने बताए। उनले प्रदेश सरकारले आठवटै जिल्लामा कार्यालय सञ्चालनमा ल्याउने तयारी थालेको बताए ।
कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्री साहसहित प्रदेशका सचिव उद्धवबहादुर घिमिरे, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रदेश वन निर्देशक जग्गनाथप्रसाद जयसवाल, महाशाखा प्रमुख अञ्जना कायस्थ, डिएफओहरू सुभाष दास (सप्तरी), सन्तोष झा (महोत्तरी) र बेचन चौधरी (धनुषा) सहित विभिन्न कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
६ वर्षपछि महोत्तरी फर्किए कार्यालय प्रमुख महतो
पछिल्लो समय संघीयतापछि खारेज भएको भूसंरक्षण कार्यालयको तत्कालीन कार्यालय प्रमुख बेचनकुमार महतो पुनः नयाँ नामबाट आएको सोही कार्यालयको कार्यालय प्रमुखकै रूपमा महोत्तरी फर्केका छन्। कार्यालय खारेजीपछि प्रदेशस्थित मन्त्रालयमा कार्य गर्दै आएका महतो भू तथा जलाधारको विज्ञ रहेकोमा उनले पुनः सो अवसर पाएका हुन् ।