बालिका बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो करिब साढे १२ बजे १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले निजगढ नगरपालिका– ४ बस्ने ३३ वर्षीय सन्जोग खतिवडा र निजगढ– ५ बस्ने २७ वर्षीय दिनेश चौलागाईंलाई पक्राउ गरेको हो ।
निजगढ नगरपालिका– ५ स्थित श्री जनजागृति आधारभूत विद्यालयबाट घर जाने क्रममा उनीहरूले बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले खतिवडालाई मंगलबार राति ११ बजे साथीको घरबाट र चौलागाईंलाई घरनजिकैबाट पक्राउ गरेको हो ।
खतिवडा केही समयअघि लागुऔषध मुद्दामा सजाय भुक्तान गरी जेलबाट छुटेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुईजना मानिसले केही पैसा र मिठाई दिएर आफूमाथि जबर्जस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएलगत्तै अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुसवाहले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाको शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरूले जानकारी दिएको बताए ।