पर्वतमा एक सय २२ पूर्वाधार योजना सम्पन्न

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

जिल्लाका विभिन्न भागमा ग्रामीण सडक कालोपत्र, मोटर चल्ने पुल, सडक, ढल निकासलगायत १२२ वटा योजना सम्पन भएका छन् । पूर्वाधार विकास कार्यालयमार्फत आर्थिक वर्ष ०८०/८१ मा ती योजना सम्पन्न भएका हुन्। गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट १५२ योजना कार्यान्वयनका निम्ति स्वीकृत भएकामा १२२ वटा योजना सम्पन्न भएका र बाँकी निर्माणाधीन रहेका जिल्ला पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा गण्डकी प्रदेशमातहतका १३३ योजना र संघीय सरकारअन्तर्गतका १९ वटा योजनामध्ये सडकतर्फ ६ वटा ठूला आयोजना सम्पन्न भएका तथा सातवटा मर्मत गरिएका हुन् । 

उक्त कार्यालयका प्रमुख गुरुदत्त अधिकारीका अनुसार २० वटा योजना बहुवर्षे ठेक्कामा गएका छन् भने वन क्षेत्रलगायत विवादका कारण १० वटा योजना कार्यान्वयन भएका छैनन् । ती योजनाको रकम पनि फ्रिज भएको छ । 

गत आवमा डिमुवा–राम्जा–चित्रे साढे पाँच किलोमिटर र चिसापानी–हातेमालो चोक–त्रिवेणी–वहाकीभञ्याङ–पोखराचौर सडक आठ किलोमिटर कालोपत्र गरिएको छ । यसैगरी, सेराबेँसी–मोहरिया–भुकताङ, फलेबास नगरपालिका– ३ स्थित नुवार–सहिदचोक–चुुचुनदेउराली सडक ५६० मिटर र बाँझाबारी–राम्चे–चौताराशंकरपोखरी सडक ५६० मिटर, मख–ठूलीपोखरी–देउपुर–देउराली–जोगीथुम दुई किलोमिटर, मिलनचोक–धाइरिङ–घाखेत चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ । 

सडक पूर्वाधार निर्माणकै क्रममा लिदीखोलामा पुल निर्माणाधीन छ । पैंयुँ गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलको एक साइड क्याप लेभलसम्मको काम पूरा भएको छ । 

सुझावित समाचार