कोशी प्रदेशमा डेंगी नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा ५८२ जना डेंगी संक्रमित भएका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेंगी नियन्त्रणसम्बन्धी कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेंगी लागेर एकजनाको मृत्यु भएको छ ।
यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा ३३४ जना संक्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा १९९, झापामा ३३, धनकुटामा ३२, संखुवासभामा ३०, भोजपुरमा २५, ओखलढुंगामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना संक्रमित भएका छन् ।
मोरङको लेटाङ नगरपालिकामा संक्रमितको संख्या ३१० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन् ।