कस्ता छन् नेपालका फुटबल रंगशाला ?

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

एसियाली फुटबल महासंघ (एएफसी)ले एक वर्षका लागि अस्थायी मान्यता दिएपछि मंगलबार दशरथ रंगशालामा चर्च ब्वाइज र पारो एफसीबीच च्यालेन्ज कपको प्लेअफ खेल भयो । प्रतिस्पर्धाअघि भारी वर्षा हुँदा मैदान हिलाम्मे बन्यो । २६७ दिनपछि रंगशाला फर्केको अन्तर्राष्ट्रिय खेल हिलाम्मे मैदानमै भयो । चिप्लो र पानीले भरिएको मैदानमा खेलाडीहरूले मुस्किलले प्रतिस्पर्धा गरे । जसकारण दशरथ रंगशालाको स्तरीयतामाथि पुनः प्रश्न उठेको छ । एएफसीले अयोग्य घोषणा गर्दा नेपालले फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरण र त्यसपछिका बाँकी खेल न्युट्रल भेन्युमा खेलेको थियो । यसबाहेक  देशभर लगभग दुई दर्जनभन्दा फुटबल रंगशाला छन् । अधिकांश ती रंगशालामा शौचालय, सुरक्षा, खेलाडी बक्स, चेन्जिङ रुम, सुरक्षा र न्यूनतम मापदण्ड पनि नहुँदा अन्तर्राष्ट्रिय मान्यता पाएका छैनन् । 

दशरथ रंगशाला 
क्षमता : १५ हजार, संरक्षक : राखेप

१५ हजार क्षमताको दशरथ रंगशाला फिफा र एएफसीबाट मान्यता पाएको एक मात्रै अन्तर्राष्ट्रिय रंगशाला हो । तर, राखेप र अखिल नेपाल फुटबल संघ (एन्फा)को लापारबाहीका कारण मैदानमा लामो समयदेखि अन्तर्राष्ट्रिय खेल हुन सकेका छैन । फुटबलसँगै यहाँ वेलावेलामा एथलेटिक्स र रग्वी खेल हुँदै आएको छ । रग्वी संघका पूर्वअध्यक्षसमेत रहेका राखेप सदस्यसचिव टंकलाल घिसिङले रग्वीको घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न स्वीकृत दिएका छन् । खेलकुदबाहेक कन्सर्ट र विभिन्न समारोह पनि यसै मैदानमा हुने गरेको छ । मैदानको उचित मर्मत नहुनु र गैरखेलकुद आयोजनाले मैदान बर्सेनि बिग्रँदै गइरहेको छ । ०७२ को भूकम्पपछि रंगशालाको मर्मत भएको थियो । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि मैदान पुनर्निर्माण भएको थियो । 

पोखरा रंगशाला (कास्की)
क्षमता : १६,५००, संरक्षक : प्रदेश खेलकुद

काठमाडौंपछि पोखरालाई खेलकुदको हब रूपका रूपमा लिइन्छ । पोखरामा लगभग सबै खेलका पूर्वाधार छन् । सन् २०१९ मा भएको १३औँ सागलाई लक्षित गर्दै पोखरा रंगशालाको पुनर्निर्माण भएको थियो । यस रंगशालाको दर्शक क्षमता १६ हजारसहितको प्यारापिट छ । एथलेटिक्सका लागि सेन्थेटिक्स ट्र्याक छ । मैदानको रेखदेख गण्डकी प्रदेशअन्तर्गत प्रदेश खेलकुद विकास परिषद्ले गरेको छ । यस मैदानलाई दशरथ रंगशालाको विकल्पका रूपमा लिने गरिन्छ । यहाँ नै १३औँ सागको महिला फुटबल भएको थियो । ६ वर्षयता यहाँ एउटा पनि अन्तर्राष्ट्रिय फुटबल भएको छैन । निकै आकर्षक मैदान देखिए पनि फ्लड लाइट नहुनु, असुरक्षित मैदान, चेन्जिङ रुम र प्लेयर बक्ससम्म स्तरीय नहुँदा यस मैदानले अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सकेको छैन । 

च्यासल मैदान (ललितपुर) 
क्षमता : आठ हजार, संरक्षक : नेपाल सरकार

फिफाको सहयोगमा च्यासल मैदान तयार भएको हो । फिफाको फुटबल विकास परियोजनाको सहयोगमा सन् २००२ मा च्यासल रंगशालामा जग राखिएको थियो । सन् २०१७ मा राखेपले यसको स्वामित्व लिँदै सन् २०२१ मा निर्माण सम्पन्न गर्‍यो । मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेको छैन । उपत्यकाभित्रमा सामान्य वर्षा हुँदा मैदान पोखरीमा परिणत हुन्छ । यस कारण पनि एन्फाले च्यासल मैदानको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेको हो । ०७९/८१ को महालेखापरीक्षकको प्रतिवेदनमा मैदान बनाउँदा ५४ लाख अनियमितता भएको ठहर गरेको छ । बागमती किनारको पूर्वतिर प्यारापिट बन्न सकेको छैन । उमेर समूहको महिला साफ च्याम्पियनसिप च्यासलबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्न एन्फ बाध्य भएको थियो । 

सहिद रंगशाला (मोरङ)
क्षमता : १४ हजार,  संरक्षक : राखेप

कोशी प्रदेशको विराटनगरमा रहेको सहिद रंगशाला बहुउद्देश्यीय रंगशाला हो । यहाँको दर्शक क्षमता १५ हजार रहेको छ । ०७५ मा महिला साफ च्याम्पियसिप यसै मैदानमा भएको थियो । त्यसयता यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन । सहिद रंगशालाले कोशीकै स्तरीय मैदानको दर्जा पाएको छ । तर, मैदानको संरक्षण गरिरहेको राखेपले यसलाई अन्तर्राष्ट्रियकरण गर्न सकेको छैन । वर्षमा एकपटक विराट गोल्डकप यहाँ धुमधामका साथ हुन्छ । त्यसबाहेक मैदानमा गतिविधि शून्य हुन्छ । वर्षामा मैदानमा पूरै पानी जमेको हुन्छ । ८ पुस ०७३ मा यसै रंगशालामा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको थियो । राखेपले विराटनगर महानगरपालिकाबाट मैदानको जिम्मेवारी आफ्नै मातहतमा फर्काएको छ । 

कर्णाली रंगशाला (सुर्खेत)
क्षमता : १५ हजार, संरक्षक : प्रदेश खेलकुद

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राखी मैदान निर्माण गरिएको हो । कर्णाली प्रदेशले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना आगामी मंसिरमा गर्दै छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन यहाँ हुनेछ । प्रदेश सरकारले बजेट विनियोजन गरेपछि अन्तर्राष्ट्रिय मैदान बनाउने प्रयास भए पनि पूर्णता पाएको छैन । मैदानको चारैतर्फ प्यारापिट जडान गरिएको छ । भिभिआइपी बक्स अन्तिम तयारीमा छन् । सेन्थेटिक ट्र्याकसमेत अन्तिम चरणमा पुगेको छ । यो मैदानले पूर्णता पाउँदा राष्ट्रकै एक सुविधासम्पन्न रंगशाला बन्नेछ । तर, होटेल र सुरक्षाको कारण अन्तर्राष्ट्रिय फुटबल हुन मुस्किल छ । 

हलचोक मैदान (काठमाडौं)
क्षमता : ५ हजार, संरक्षक : एपिएफ

हलचोक मैदानमा कुनै समय एएफसीका नियमित प्रतियोगिता हुन्थे । एएफसी च्यालेन्ज कपमा नेपालले यमनविरुद्ध हलचोक मैदानमा खेलेको थियो । साफ च्याम्पियसिपका केही खेल पनि यहाँ भएका थिए । तर, पछिल्लो समय यो मैदान विभागीय टोली सशस्त्र प्रहरी बलका खेलाडीको प्रशिक्षण गर्ने थलो बनेको छ । एन्फा र सरोकारवालाले हलचोक मैदानलाई त्यति प्राथमिकता राखेका छैनन् । पाँच हजार क्षमताको मैदानमा ०७५ को ए डिभिजन लिग आयोजना भयो । मैदानको स्तर राम्रो नहुँदा यहाँ पछिल्ला समय अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन । 

एन्फा कम्प्लेक्स (ललितपुर)
क्षमता : पाँच हजार, संरक्षक : एन्फा

एन्फाले आफ्नो मुख्यालयमा वैकल्पिक रंगशालाका रूपमा मैदान बनाएको छ । नेपालको एक मात्र आर्टिफिसियल मैदानको दर्शक क्षमता पाँच हजार रहेको छ । नेपालले आयोजना गर्ने लगभग सबै उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिता यसै मैदान हुँदै आइरहेको छ । यसका साथै एन्फाले यस मैदानमा ए, बी र सी डिभिजन लिग गरेको छ । वर्षाको समयमा कृत्रिम घाँस नबिग्रने हुँदा एन्फाले क्षमताभन्दा बढी प्रयोग गरिरहेको छ । फुटबलको सिजनमा यो मैदानमा १२ घण्टा खेलाडी दौडिरहेका हुन्छन् । यसै मैदानबाट पूर्वकप्तान अनिल गुरुङले सन्न्यास लिएका थिए । उमेर समूहका खेल भए पनि यहाँ सिनियर टोलीका खेल भएको छैन । मैदानको पूर्वतिर हाइभोल्टेजको विद्युतीय तार रहेका कारण नै फिफा र एएफसीले यहाँ सिनियर टोलीको खेल आयोजना गर्न दिएका छैनन् । 

डोमालाल रंगशाला (झापा)
क्षमता : अस्थायी, संरक्षक : झापा ११

डोमालाल रंगशालामा कोशी प्रदेशभित्रका प्रतियोगिता आयोजना हुने गरेको छ । सहिद रंगशालापछि डोमालाललाई उत्कृष्ट मैदानका रूपमा लिइन्छ । यस मैदानको संरचनामा तत्काल अन्तर्राष्ट्रिय प्रतियोगिता हुन दशकले प्रतीक्षा गर्नुपर्ने छ । मैदानमा पूरै बाँसबाट बनेको अस्थायी प्यारापिट छ । झापा गोल्डकपमा औसत १२ हजार दर्शक आउने गर्छन् । खेल्ने मैदानको अवस्था राम्रो भए पनि यहाँको भौतिक पूर्वाधारलगायत अन्य विषय नहुँदा यस मैदानले अन्तर्राष्ट्रिय मान्यता पाउन सकेको छैन । 

मेची रंगशाला (झापा) 
क्षमता : १ हजार, संरक्षक : जिल्ला खेलकुद समिति

मेची रंगशाला झापाको सबैभन्दा ठूलो खेल मैदान हो । चन्द्रगढीमा बनेको यस मैदान सरकारले बनाएको हो र राखेपले पूरै स्वामित्व लिएको छ । तर, राखेपले मैदानको रेखदेख गर्ने जिम्मा जिल्ला खेलकुद समितिलाई दिएको छ । यहाँ खेलकुद गतिविधिबाहेक सांगीतिक कार्यक्रम पनि हुन्छन् । 

See More On

सुझावित समाचार