सत्तासाझेदार दल कांग्रेसभित्रको विवादका कारण लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । एक महिनाअघि एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशमा १२ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था गरिएको छ । एमाले र कांग्रेसबाट पाँच–पाँचजना मन्त्री सहभागी हुने भनिएकोमा कांग्रेसले एकजना मन्त्री टुंग्याउन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र कांग्रेसबाट चारजना मन्त्री छन् । दुईजना मन्त्री साना दलबाट सहभागी गराउने कांग्रेस–एमालेले बताउँदै आएका छन् । तर, साना दल कुन–कुनलाई सहभागी गराउने भन्ने निष्कर्षमा सत्तारूढ दल पुग्न सकेका छैनन् ।
कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मन्त्रीमा कसलाई पठाउने भन्ने टुंगोमा पुगिनसकेको बताए । ‘यसबारे थप छलफल भएको छैन । अझै केही दिन लाग्न सक्छ,’ उनले भने । साना दलबारे पनि कुनै निष्कर्षमा नपुगेको उनले बताए । चौधरीका अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।
मुख्यमन्त्री आचार्यले आगामी ४ भदौमा विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुनमगरले बताए । उनका अनुसार विश्वासको मत माग्ने सूचना मुख्यमन्त्रीले बुधबार प्रदेश सभामा दर्ता गराएका छन् । सभामुख तुलाराम घर्ती मगरले ४ भदौ दिउँसो १ बजे प्रदेश सभाको बैठक डाकेका छन् । आचार्य ७ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।