डिडिसी र निजी डेरीले बक्यौता तिरेनन्

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण
डिडिसी र निजी डेरीले बक्यौता तिरेनन्

दुध सहकारीमा संकलन गर्दै चितवनका किसान

बैंकबाट ऋण काढेर किसानलाई भुक्तानी गर्दै गंगानगर सहकारी

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले बक्यौता नतिरेपछि चितवनको धनौजीमा रहेको गंगानगर दुग्ध उत्पादक सहकारीले बैंकबाट ऋण काढेर किसानलाई भुक्तानी गरिरहेको छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटासहितले आफ्नो लालपुर्जा बैंकमा धितो राखेर लिएको ऋणबाट किसानको दुधको पैसा तिरिरहेका हुन् । 

सहकारीका अध्यक्ष र पदाधिकारीले सिद्धार्थ बैंकबाट कर्जा लिएका हुन् । ‘हामीले व्यापारी र उद्योगलाई बेचेको पैसा सहज रूपमा प्राप्त गरेका छैनौँ, तर ऋण काढेर असारसम्मको भुक्तानी किसानलाई दिएका छौँ,’ अध्यक्ष सापकोटाले भने, ‘हाम्रो सहकारीमा दुध बेच्ने किसानको अभिभावक हामी हौँ, त्यही भएर भुक्तानी गरेका हौँ ।’

गंगानगर सहकारीले किसानबाट दुध लिएर डिडिसी र चार निजी डेरीलाई दिँदै आएको छ । डिडिसीबाट सात महिना र  निजी डेरीबाट असारसम्म गरी तीन करोड भुक्तानी प्राप्त गर्न नसकेको अध्यक्ष सापकोटाले बताए । जसमा निजी डेरीको मात्र असार मसान्तसम्मको ५० लाख लिन बाँकी छ । सहकारीले दैनिक ६ हजार लिटर दुध संकलन गर्छ । आफ्नै एउटा गाई फर्म छ । नौ सय घरपरिवार सहकारीमा आबद्ध छन् । ‘यो सहकारीले मुख्य कार्यालयबाहेक थप दुई ठाउँबाट दुध संकलन गर्छ,’ उनले भने । 

गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाको आफ्नै उद्योग छ । उद्योग सञ्चालन गर्दा संस्थाले एक करोड १७ लाख कर्जा लिएको थियो । समितिबाट भुक्तानी नै गर्न भनेर एक करोड २५ लाख रुपैयाँ गत पुसमा बैंकबाट थप ऋण मागिएको हो ।  सहकारीले १५/१५ दिनमा दुध बिक्रीबापतको पैसा किसानलाई दिने गर्छ । तर, चितवनका किसान दुई वर्षदेखि भुक्तानीमा समस्या भोग्दै आएका छन् । चितवनमा केही सहकारीले ६/७ महिनादेखिको भुक्तानी किसानलाई दिन सकेका छैनन् । चितवनको दुध गुणस्तरीय भएको र काठमाडौंसहितका मुख्य बजार लैजान सहज हुने भन्दै नेपालका प्राय डेरीले यहाँबाट दुध संकलन गर्ने गर्छन् ।

डिडिसी र निजी डेरीले चितवनमा मात्र ७२ करोड भुक्तानी गर्न बाँकी
चितवनमा मात्र डिडिसी र निजी डेरीले चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध एक सय १५ मध्ये २५ भन्दा बढी सहकारीले डिडिसीलाई दुध बेच्छन् ।

डिडिसीले दुध खरिद गर्ने प्राय सहकारीले सात महिनाको पैसा किसानलाई दिन सकेका छैनन् । त्यसमध्येको भरतपुर–१३ मा रहेको ब्रह्मदेव दुग्ध उत्पादक सहकारीमा दुध बिक्री गर्दै आएका अमर विष्ट सात महिनादेखिको दुधको भुक्तानी सहकारीबाट नपाएको गुनासो गर्छन् । उनी सो सहकारीको कार्यसमिति सदस्य हुन् । ‘हाम्रो त जागिर नै गाईभैँसी दुहुने र दुध बिक्रीबाट आएको आम्दानीले घर खर्च चलाउने हो । तर, हामी किसानले नुन–तेल र घरखर्चसमेत चलाउन गाह्रो छ,’ पशुपालक किसान कुलप्रसाद बास्तोलाले बताए ।

विदेशबाट फर्किएर नेपालमा नै स्वरोजगार हुने लक्ष्यसहित पशुपालन गरेका धनश्याम अधिकारीका १५ वटा गाई छन् । बालबालिकाको स्कुल पढाउनेदेखि घरखर्च यही गाईको आम्दानीबाट हुनुपर्ने हो । तर, पैसा समयमा नआउँदा घरखर्च चलाउनै गाह्रो भएको उनको गुनासो छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार चितवनमा मात्र डिडिसीले ३१ करोड र निजी डेरीले ४१ करोड भुक्तानी गर्न बाँकी छ । ‘दुध अरू चिजजस्तो भकारीमा हालेर लामो समयसम्म राख्न सकिँदैन । बिहान बेलुका दुध दुहुनै पर्छ, पैसा नै नआए पनि हामी किसानले दुध दुहुनुपरेको छ,’ उनले भने, ‘यो हाम्रो बाध्यता हो । दुधमा आत्मनिर्भर जिल्लामा लामो समयदेखि समस्या देखियो । समस्या हल नहुँदा किसान पलायन हुने जोखिम बढ्यो ।’

See More On

सुझावित समाचार