मनीष झा, कार्यवाहक प्रवक्ता, रास्वपा : राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र क्लोज क्याम्पले सुझाएका विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी गरी ६ विषयलाई छलफलका रूपमा लैजाने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला १ र २ असोजमा काठमाडौंमा हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले भेला गर्ने निर्णय लिएको हो ।
कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार सचिवालय बैठकले राष्ट्रिय भेलाको तयारी र एजेन्डाका विषयमा निर्णय लिएको हो । भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र क्लोज क्याम्पले सुझाएका ६ विषय एजेन्डाका रूपमा छलफल गर्ने तय भएको उनले जानकारी दिए । राष्ट्रिय भेलाअघि सातै प्रदेशको भेला गर्ने निर्णयसमेत बैठकले गरेको छ । ‘राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र क्लोज क्याम्पले सुझाएका विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी गरी ६ विषयलाई छलफलका रूपमा लैजाने निर्णय गरेको छ,’ झाले भने ।
गत १९ साउनमा रास्वपाको बन्द कार्यशाला (क्लोज क्याम्प)ले पहिलो महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णयसहित पार्टीलाई १५ बुँदे सुझाव दिएको थियो । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको बन्द कार्यशालाले मूलतः संगठन निर्माण, संसद्मा पार्टीको भूमिका, संविधान संशोधनबारे पार्टी धारणा र स्थानीय छाया सरकार गठनको अभ्यासलगायत विषयमा सुझाव दिएका थियो । झाका अनुसार कार्यशालामा यिनै ६ विषयमा छलफल गरिएको थियो ।
जसमा आगामी ३ र ४ असोजमा राष्ट्रिय भेला आयोजना गर्ने, ०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्नेसहितका सुझाव दिएको थियो । यसबाहेक पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्रलगायत अन्य दस्ताबेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरूपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनसमेतको विषयमा पार्टीको अवधारणा तयार गर्ने सुझाव क्लोज क्याम्पको थियो ।
पूर्वमहामन्त्री ढकाललाई पुनः स्पष्टीकरण
रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई पुनः स्पष्टीकरण सोधेको छ । रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । पार्टी अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनको विषय सार्वजनिक गरेको भन्दै ढकाललाई पहिले स्पष्टीकरण सोधिएको थियो । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार अनुशासन आयोगको सिफारिसका आधारमा सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
‘उहाँलाई यसअघि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरिएको थियो । यसबीचमा उहाँले यसबारे पुनरावेदन गर्न सक्नुुहुन्थ्यो, तर गर्नुभएन, बरु उल्टै पार्टीको हितविपरीत गतिविधि गरेपछि साधारण सदस्यका रूपमा राख्दासमेत पार्टीलाई हानि पुग्ने भएकाले किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधिएको हो,’ उनले भने, ‘सचिवालयको निर्णयअनुसार अन्तिम सफाइको मौका दिने गरी मेरै हस्ताक्षरमा कारबाहीको पत्र तयार भएको छ ।’
इलाम २ मा भएको उपनिर्वाचनमा रास्वपाको हार भएपछि तत्कालीन महामन्त्री ढकालले समीक्षा यात्रा गरेका थिए । यसक्रममा उनले ३९ जिल्लाका दुई हजार ७९ नेता–कार्यकर्ता र सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेर समीक्षा यात्रा तयार गरेका थिए । तर, पार्टी बैठकमा छलफअगावै ढकालले प्रतिवेदन सार्वजनिक गरेसँगै निलम्बन गरेर कारबाही अगाडि बढाएको थियो । ढकालले भने आफूलाई पार्टी सभापति रवि लामिछानेबाहेकले कारबाही गर्ने आधार नभएको भन्दै स्पष्टीकरण नदिने बताउँदै आएका छन् । रास्वपा सचिवालय बैठकले विधिविपरीत बैठक बसेर निर्णय लिएकाले आफू कानुनी सल्लाह लिएर अघि बढ्ने चेतावनीसमेत बताएका छन् । ‘सभापति नहुँदा पनि हुन्छ, तर महामन्त्रीविना सचिवालय बैठक बस्नै मिल्दैन । बैठक नै विधानविपरीत छ । मैले कारबाहीबारे जानकारी पाएँ ।