शरणार्थी प्रकरणका बिचौलिया झाविरुद्ध मुद्दा दायर

पहिल्याएन प्रहरीले उच्च राजनीतिक संलग्नता, दुई करोडको चेक लिएको भने पुष्टि

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेका बिचौलिया बेचन झाविरुद्ध मुद्दा दायर भएको छ । तर, उच्च तहका व्यक्तिको संलग्नता खोतल्न प्रहरी असफल भएको छ । जब कि पीडित र केही आरोपीले झाले नै उच्च राजनीतिक नेतृत्वसँग बिचौलियाको काम गरेको बयान दिएका थिए । 

जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मंगलबार जिल्ला अदालत, काठमाडौंमा पूरक अभियोग दायर गरेको हो । उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए । यस विषयमा अदालतबाट थुनछेक आदेश भइसकेको छैन । 

प्रहरीले यसअघि दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए । हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका छन् । उनले बयान दिएका थिए, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’ कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध रहेको सूचना प्रहरीसँग थियो । तर, झाले इन्कारी बयान दिएकाले त्यसतर्फ अनुसन्धान अघि बढ्न नसकेको काठमाडौं परिसरका प्रहरी अधिकारी बताउँछन् । 

बयानको क्रममा झाले नक्कली भुटानी शरणार्थीको विषयमा केही पनि थाहा नभएको दाबी गरेका छन् । बयानमा भनेका छन्, ‘टेकनारायण पाण्डेसँग मेरो चिनजान, सम्पर्क नभएकाले निजले कहाँ, कस्तो बयान दिएका हुन्, उनै जानून् । चेकको सम्बन्धमा केही जानकारी छैन ।’ झुटो बोलेको परीक्षण गर्ने पोलिग्राफ टेस्ट गर्न नमानेको अभियोगपत्रमा उल्लेख छ । पक्राउ परेको दुई सातासम्म बयान नै दिन नमानेका झाले कानुन व्यवसायीहरूसँग सल्लाह गरेपछि केही जानकारी नभएको भनेर इन्कारी बयान दिएका हुन् । 

झाले चेक नलिएको बयान दिए पनि प्रहरी अनुसन्धानले भने उनले चेक लिएर खातामा जम्मा गरेको पुष्टि भएको छ । झाको कम्पनीमा काम गर्ने कर्मचारीले सो कुरा पुष्टि गरेका हुन् । उनको विभान्सु ब्रदर्स नामक कम्पनीमा काम गर्ने कर्मचारी कञ्चन श्रेष्ठले सो कुरा प्रहरीमा प्रमाणित गरिदिएका हुन् । 

झाले दर्तामा छुट भएका नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर अमेरिका पठाउन मन्त्रिपरिषद्बाटै निर्णय गरिदिने भन्दै रामशरण केसीसँग दुई करोडको चेक लिएका थिए । सो चेक आफ्नो खातामा जम्मा गर्न उनले कञ्चनलाई लगाएका थिए । झाको इन्भेस्टमेन्ट बैैंकको खातामा सो चेक जम्मा गरिएको थियो । तर, पैसा नपुगेपछि बैंकबाट चेक फिर्ता आएको र आफूले झालाई दिएको कञ्चनले प्रहरीमा गरेको कागजमा उल्लेख छ । प्रहरीले अनुसन्धानको क्रममा उनीविरुद्ध संकलन गरेको सबैभन्दा बलियो प्रमाण यही हो । साथै, उनीसँग रामशरण केसीले यससम्बन्धी कुरा गरेको अडियो, यो घटनाको अनुसन्धान भएलगत्तै उनी भागेर भारत जानु र पुरानो मोबाइल प्रयोग नगर्नुलाई पनि प्रहरीले प्रमाणको रूपमा पेस गरेको छ । 

अभियोगपत्रमा भनिएको छ, ‘प्रतिवादी बेचन झाले आफूले गरेको कसुर अपराधबाट बच्न सकिन्छ कि भनी भुटानी शरणार्थीको विषयमा आफूलाई कुनै पनि कुराहरू जानकारी छैन र रामशरण केसीबाट आफूले दुई करोड लिएको चेक लिएको छैन भनी झुटा व्यहोराको बयान गरेको प्रस्ट रूपमा देखिएको हुँदा निज प्रतिवादी बेचन झाले आफू व्यापार व्यवसाय गर्दै सोही व्यवसायको आडमा राजनीतिक तहका उच्च निकायका मानिसहरू टोपबहादुर रायमाझी, टेकनाथ रिजाल, इन्द्रजित राईसमेत र उच्च तहका सरकारी कर्मचारी टेकनारायण पाण्डेसँगको सम्पर्क र समन्वय गरी मिसिल संलग्न रहेको मिति २०८०/०१/१० गतेको अभियोगपत्रसमेतको प्रतिलिपिमा उल्लेखित जाहेरवालाहरू तथा निजहरूका आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिनका लागि प्रमुख भूमिका खेलेको भन्ने प्रस्ट देखिन आएको,’ उल्लेख छ । उनले मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीलाई तेस्रो देश पुनस्र्थापना गर्नेसम्बन्धी निर्णय हुँदै छ भन्ने विश्वासमा पारेर पैसा लिएका थिए । उनले भनेकै मिति १३ मंसिर ०७८ मा मन्त्रिपरिषद्ले छुट भएका भुटानी शरणार्थीलाई पुनस्र्थापनाका लागि पहल गर्ने निर्णयसमेत गरेको थियो । 

झाले चेक लिएको प्रहरीले पुष्टि गर्न सफल भए पनि कतिपय पक्षमा प्रहरीको अनुसन्धान फितलो छ । रामशरण केसीले बयान गर्दा हरिभक्त महर्जनले समेत झालाई नगदै पैसा दिएको भनेर आफूसँग बताएको उल्लेख गरेका छन् । यही मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका महर्जनसँग प्रहरीले यस विषयमा थप सोधखोज गरेको छैन । पक्राउ पर्दा आरोपी झासँग भारतको आधारकार्डसमेत भेटिएको थियो । उनले पर्साबाट नेपाली नागरिकतासमेत लिएका छन् । दुवैतिरको नागरिक देखिएको विषयमा पर्साबाट अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

झाको मोबाइल परीक्षण रिपोर्ट प्राप्त नभईकन प्रहरीले अभियोग अघि बढाउनुले पनि प्रश्न उठेको छ । जब कि उनलाई संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्थ्यो । ४६ दिनमै प्रहरीले मुद्दा बुझाउन हतार गरेको छ । झा पक्राउ परेपछि उच्च तहका नेता तानिन सक्ने भएकाले अघिल्लो सरकार ढालेको आरोप माओवादी  र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले लगाउँदै आएका छन् । 

पहिलो चरणमा प्रहरीले ३० जनाविरुद्ध  १० जेठ ०८० मा  मुद्दा दायर गरेको थियो । दोस्रो चरणमा पाँच बिचौलियाविरुद्ध पूरक अभियोग दायर भएकोमा हाल दोस्रो पूरक अभियोग अदालत पुगेको हो । प्रहरीको इतिहासकै हाइप्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए । त्यस्तै, रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए । उनीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा र प्रतीक थापा पुर्पक्षका लागि कारागारमा छन् ।

सुझावित समाचार