सुकेटार विमानस्थलको नियमित हवाईसेवा आजदेखि सुरु हुँदै छ । ११ जेठदेखि ठप्प रहेको उडान यात्रु भएको खण्डमा आजदेखि सुरु गरिने नेपाल वायुसेवा निगमले जनाएको छ । साथै, मौसम राम्रो भएमा बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गरिने निगमको भनाइ छ ।
जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एक दिन तालिका राखे पनि उडान भने गरेको छैन । यसअघि निगमले सोमबार, बुधबार र शनिबार गरी साताको तीन उडान गर्दै आएको थियो । मौसममा सुधार आएसँगै उडान गर्न सकिने वातावरण भएपछि तालिका राखिएको निगमले बताएको छ ।
पर्यटकीय जिल्ला भए पनि हवाई यातायात भरपर्दो नहुँदा पर्यटकीय गतिविधिमा शिथिलता आएको पर्यटक व्यवसायीहरू बताउँछन् । सुकेटर विमानस्थलमा छिन–छिनमा मौसम परिवर्तन हुने भएका जेठ, असार, साउन र भदौ महिनामा हवाईसेवा ठप्प हुने गरेको छ ।
निगमले गत वर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो । लामो समय उडान नभएकाले काठमाडौंदेखि ताप्लेजुङ आउने र ताप्लेजुङदेखि काठमाडौं जाने यात्रु नपाइन सक्ने निगमले जनाएको छ ।