पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने कार्ययोजना स्वीकृत

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार गरिएको कार्ययोजना सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

करिब ६० अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएका दुईवटा विमानस्थलबाट अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । विमानस्थल निर्माण सकिएको दुई वर्ष बितिसक्दासमेत नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन नसकेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)माथि प्रश्न उठ्दै आइरहेको छ । 

२ जेठ ०७९ मा भैरहवा र १७ पुस ०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । क्यानले अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिँदा पनि भैरहवा र पोखरामा उडान गर्न कुनै पनि वायुसेवा कम्पनी तयार देखिएका छैनन् ।

मंगलबार स्वीकृत भएको कार्ययोजनामा पोखरा र भैरहवामा श्रम कार्यालयका डेस्कहरू स्थापना गर्ने विषय समेटिएको स्रोतको भनाइ छ । त्यस्तै, दवै एयरपोर्टबाट उडान गर्ने यात्रुहरूलाई यात्रु सेवा शुल्क आधा घटाउने पनि उल्लेख छ । अहिले अन्तर्राष्ट्रिय यात्रुहरूसँग विमानस्थलले यात्रु सेवा शुल्कबापत प्रतियात्रु तीन हजार रुपैयाँ लिने गरेको छ । 

ग्राउन्ड ह्यान्डलिङ सेवामा दिइएको सहुलियतलाई निरन्तरता दिँदै छुटको सीमा पनि बढाइदिने तयारी भएको स्रोतको भनाइ छ । अहिले नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवा र पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिइरहेको छ । अन्तर्राष्ट्रिय वायुसेवाका नेपालस्थित जिएसए कम्पनीहरूले पोखरा र भैरहवाको ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट मागिरहेका छन् ।

स्रोतका अनुसार कार्ययोजनामा पोखरा र भैरहवाबाट उडान गर्ने यात्रु टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)मा पनि पुनरावलोकन गर्ने उल्लेख छ । त्यस्तै, वायुसेवा कम्पनीहरूलाई सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर हवाई इन्धनमा केही सहुलियत दिने, कतार भिजा सेन्टर स्थापना गर्नेलगायत विषय पनि समेटिएका छन् । वायुसेवा कम्पनीलाई आकर्षक छुट र सुविधा दिएर भए पनि दुईवटै विमानस्थल सञ्चालन गर्ने पक्षमा रहेर कार्ययोजना तयार गरेको स्रोतको भनाइ छ । भैरहवा र पोखार विमानस्थलमा थाई स्माइल, जजिरा, बिज एयर, भुटानको ड्रुक एयरलगायतले उडान गर्न चासो देखाइरहेका छन् । 

सुझावित समाचार