गत आर्थिक वर्षमा सल्यानबाट ७२ करोड रुपैयाँभन्दा बढीको खसीबोका निकासी भएको छ । आर्थिक वर्ष ०८०/८१ मा जिल्लाबाट ७२ करोडभन्दा बढीको खसीबोका निकासी भएको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानले जनाएको छ।
दर्ता भएका विभिन्न कम्पनीबाट ५९ करोड ६० लाखको खसीबोका निकासी भएको कार्यालयमा रेकर्ड रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए। दर्ता नभएका स्थानीय व्यापारीहरूमार्फत अन्दाजी १३ करोडकोबराबरको खसीबोका निकासी भएको उनको भनाइ छ । उनले भने, ‘कपुरकोट नाकाबाट निकासी हुने खसीको रेकर्ड रहन्छ । कपुरकोटबाहेक कालीमाटी र बनगाड कुपिण्डेको नाकाबाट पनि निकासी हुने हुँदा कालीमाटी र बनगाडको रेकर्ड हामीसँग रहँदैन ।’
आ.व. ०७९/८० मा कार्यालयको तथ्यांकमा ५९ करोड ५३ लाखको खसीबोका निकासी भएको थियो । विगतका वर्षहरूभन्दा गत आवमा खसीबोका निकासीको दर बढेको उनको भनाइ छ। आम्दानीको राम्रो स्रोत बाख्रापालन हुनु, विदेशबाट स्वदेश फर्किएर कृषि पेसामा आबद्ध हुनुलगायतका कारण निकासी दर बढेको महतले बताए ।
बाख्रापालनलाई बढावा दिन प्रदेश सरकार र स्थानीय तहले ‘एक पालिका एक पशु वस्तु’ कार्यक्रममार्फत बाख्रा वितरण गरिएको महतले जानकारी दिए। उनले भने, ‘जिल्लामा व्यावसायिक बाख्रापालन फस्टाउँदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढेको छ। प्रत्येक घरले पाँचदेखि १० वटासम्म बाख्रापालन गर्दै आइरहेका छन् ।’ जिल्लामा हाल पाँच लाख ६ हजार ६ सयभन्दा बढी बाख्रा रहेका छन् ।