गुल्मीको मालिका गाउँपालिका– २ दर्लिङको च्यानडाँडा मावि पहिरोले क्षतविच्छेद भएको छ । युडब्लुएस नेपालले भर्खरै निर्माण गरेको नौकोठे विद्यालय भवन पहिरोले क्षतिग्रस्त भएको हो । विद्यालयको तलबाट पहिरो खस्दै गएपछि भर्खर निर्माण गरेको नौकोठे भवनसहित जमिन नै चर्किएकोले बग्ने जोखिम रहेको छ भने एउटा कोठा बस्नै नहुने भएको विद्यालयका प्रधानाध्यापक मुक्तबहादुर खत्रीले बताए ।
च्यानडाँडा माविमा २२९ विद्यार्थी रहेका छन्। नयाँ भवनमा कक्षा ६, ७ र ८ का गरेर एक सय विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक खत्रीले जानकारी दिए। पुरानो विद्यालय भत्काएकाले विद्यार्थी छाप्रोमा बस्दै आएका थिए। वर्षात् सुरु भएपछि नयाँ भवनमा विद्यार्थी सारे पनि पहिरोका कारण विद्यालय नै बग्न थालेकाले अप्ठ्यारो परेको खत्रीले बताए । दिउँसोमा पनि धेरै चर्किएका कोठाका विद्यार्थीलाई बाहिर बलेनीमा राखेर पढाउने अवस्था रहेको बताए ।
‘युडब्लुएसले भर्खर बनाएको विद्यालय पहिरोले तहसनहस बनायो । विद्यार्थीहरू कहाँ राखेर पढाउने भन्ने संकट विद्यालयलाई छ,’ उनले भने, ‘घर र विद्यालय नै असुरक्षित भएकाले विद्यार्थी त्रासमा छन् ।’ युडब्लुएस नेपालका शिक्षा अधिकृत अनुज सिग्देलले आफूहरूले स्थलगत अनुगमन गरेपछि मर्मत वा नयाँ भवन निर्माण गर्ने भन्ने विषयमा संस्थाले निर्णय गर्ने बताए । उनले युडब्लुएसले हरेक ठाउँ करिब ५० लाख खर्च गरेर विद्यालय बनाउने गरेको बताए । विद्यालय मात्रै नभएर विद्यालयका शिक्षक तथा विद्यार्थी घर र विद्यालय गर्ने अवस्थासमेत निकै जोखिमपूर्ण रहेको छ । सडक अवरुद्धसँगै तलमाथि ठूला पहिरो हुँदा टाढासम्म आवतजावत गर्ने शिक्षक तथा विद्यार्थीलाई निकै जोखिम रहेको शिक्षक रामबहादुर थापाले बताए ।
विद्यार्थी विद्यालय र घरमा त्रासमा बाँच्नुपर्ने अवस्था रहेको छ । कैयौँ विद्यार्थीका परिवार विस्थापित भएकाले रातमा छिमेकीकोमा जाने अवस्था भएको र दिउँसोमा स्कुल आउँदा पनि त्रासमै पढ्ने स्थिति रहेको च्यानडाँडा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र विश्वकर्माले जानकारी दिए ।