सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरूले आर्थिक वर्ष ०८१/८२ का लागि बजेट तथा कार्यक्रम पारित गर्न तत्काल नगर सभा बोलाइनुपर्नेसहित तीनबुँदे माग गरेका छन् ।
गत २८ असारमा १२औँ नगरसभाअन्तर्गत पारित गर्न लागिएको बजेट तथा कार्यक्रम विवादका कारणले रोकिएको एक महिनापछि नगरका ११ र १२ बाहेकका १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १३ र १४ नम्बर वडाका वडाध्यक्षहरूले सोमबार संयुक्त प्रेस विज्ञप्तिमार्फत यथाशीघ्र नगरसभाको मिति तय गर्न माग गरेका हुन् ।
नगर कार्यपालिका सदस्यसमेत रहेका वडाध्यक्षहरूले विज्ञप्तिमार्फत नगर सभाको मिति तयसहित नगरको सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्र निर्माण, नगरमा देखिएका समस्याहरू समाधानका लागि तत्काल कार्यपालिका बैठक राखिनुपर्ने माग गरेका छन् ।
विज्ञप्तिमा नगरको प्रशासनिक काम, सेवा प्रवाह लथालिंग भइरहेको सन्दर्भमा छिटो–छरितो बनाउन नगर प्रमुखलाई पटकपटक मौखिक आग्रह गरिएको भए पनि बेवास्ता गर्दै आएको आरोप लगाइएको छ । धनगढीमाईका वडाध्यक्षहरू सूर्यनारायण यादव, हमिद राइन, वीरेन्द्रकुमार साह, ओमप्रकाश यादव, रामजतन कामैत, रामभरोस महतो, प्रकाश योञ्जन, सरोजकुमार महतो, सूर्यमान तामाङ र अमित ठकुरीको हस्ताक्षर रहेको विज्ञप्तिमा आफूहरूले उठाएको माग सम्बोधन नभए मंगलबार अपराह्न ४ बजेपछि बेथिति, गैरजिम्मवारपन र गैरजवाफदेहिताविरुद्ध कडा कदम चालिने चेतावनी दिइएको छ ।
धनगढीमाईका नगर प्रमुख शिवशंकर महतोले नगर सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत नहुँदै अनावश्यक विवाद झिकेर वडाध्यक्षहरूको कारणले रोकिएको नगर सभा गर्ने विषयमा चार–पाँचपटक छलफल गरिएको भए पनि सहमति हुन नसकेको बताए ।