कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू बन्द हुने क्रम बढेको छ । कोरोनाकालपछि जिल्लामा व्यावसायिक फर्महरू बन्द हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो ६ वर्षमा आर्थिक वर्ष ०७५/७६ देखि ०८०/८१ सम्म एक हजार तीन सय ४९ फर्म बन्द भएका छन् । गत आर्थिक वर्ष ०८०/८१ मा दुई सय ६९ साना उद्योग र एक सय ३१ व्यावसायिक फर्म बन्द भएका छन् । आर्थिक वर्ष ०७९/८० मा ७८ साना र ९६ वाणिज्य फर्म बन्द भएका थिए । आव ०७५/७६ मा ६१, ०७६/७७ मा ७५, ०७७/७८ मा ७७ र ०७८/७९ मा ९० वटा साना उद्योग बन्द भएको कार्यालयले जनाएको छ ।
वाणिज्य फर्मअन्तर्गत आव ०७५/७६ मा एक सय ६९, ०७६/७७ मा एक सय ७८, ०७७/७८ मा एक सय नौ, आव ०७८/७९ मा ७६ फर्म बन्द भएका छन् । बन्द हुने साना उद्योगहरूमा उत्पादनमूलक कृषि तथा वन सेवामूलक र पर्यटन क्षेत्रका रहेका छन् । यस्तै, व्यावसायिक फर्महरूमा किराना पसल हार्डवेयर, कपडा पसल मदिरा, कस्मेटिक, इ–मोबाइल पसललगायतका छन् ।