३४औँ ओलम्पिक लस एन्जलसमा

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

अमेरिकाले चार वर्षपछि आयोजना गर्ने ओलम्पिकमा सात बिलियन अमेरिकन डलर बजेट छुट्याएको छ । सन् १९०० पछि टी–२० फम्र्याटमा क्रिकेटसँगै स्क्वास, बेसबल र सफ्ट बल खेल समावेश हुनेछ

स्टेडे फ्रान्स रंगशालामा आइतबार राति विभिन्न सांस्कृतिक कार्यक्रमबीच ३३औँ संस्करणको पेरिस ओलम्पिक सानदार तरिकाले समापन भएको छ । अमेरिकाको लस एन्जलसमा भेट्ने वाचासँगै फ्रान्सले भव्य रूपमा ओलम्पिक गर्यो । ओलम्पिक इतिहासमै फ्रान्सले उद्घाटन नदीमा गरेको थियो । विश्व चर्चित आइफल टावर हुँदै बग्ने सेन नदीमा सहभागी राष्ट्रका खेलाडीलाई बोटिङमा मार्चपास गराइएको थियो । 

सन् २०२८ को ओलम्पिक आयोजनामा एक्लो दाबेदारी परेको अमेरिकाको लस एन्जसलसले चार वर्षपछिको प्रतियोगिता पेरिसको भन्दा उत्कृष्ट बनाउने योजना छ । अमेरिकन नागरिकहरूले लस एन्जलस ओलम्पिक अहिलेसम्मकै उत्कृष्ट हुने दाबी गर्छन् । ओलम्पिकमा हलिउडको ग्ल्यामर झझल्को आउने स्थानीय मारिसियाले बताइन् । ‘तपाईंहरू हेर्नुस, चार वर्षपछिको ओलम्पिकमा पाहुनाहरूले हलिउडको स्वाद मजाले पाउनेछन्,’ उनले भनिन्, ‘पेरिसले हामीले एउटा आधार बनाएको छ । अब लस एन्जलस ओलम्पिक थप उत्कृष्ट हुने छ ।’ 

१४ जुलाई २०२८ मा उद्घाटन हुनेछ । दुई सातासम्म चल्ने ओलम्पिक ३० जुलाईमा सकिनेछ । यसको दुई सातापछि नै लस एन्जलसले पारा ओलम्पिक पनि आयोजना गर्नेछ । यो १५–२७ अगस्टसम्म हुने आयोजकले जनाएको छ । पारा ओलम्पिकमा ५० राष्ट्रका खेलाडीहरूले आठ सय इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । 

तेस्रोपटक आयोजना
अमेरिकाको लस एन्जलसले ओलम्पिक गर्न लागेको तेस्रोपटक हो । लस एन्जलस चार वर्षपछिको खेल गर्न उत्सुक छ । अमेरिकालाई ओलम्पिक आयोजना गर्न नयाँ भौतिक संरचना निर्माण गर्नु आवश्यक छैन । यहाँ पहिला नै विश्वस्तरीय रंगशाला छन् । जसलाई केवल मर्मत–संहार गर्दा पुग्छ । केही नयाँ स्थानमा रंगशाला बनाउने योजनामा आयोजक तयार छ । लस एन्जलेसको ग्यालेक्सीको घरेलु मैदान मेमोरियल कोलिजममा केही नयाँपन देखिन सकिन्छ । यहाँ नै एथलेटिक्सका खेल हुनेछ । लस एन्जलसमा ओलम्पिक हुँदा अमेरिकाले खेलकुदको माध्यमबाट पयर्टक भिœयाउने अवसर प्राप्त गरेको छ । पाम फिन्ड किनारा विश्वकै चर्चित समुद्री किनारा हो । यसै किनारामा बीच भलिबल हुनेछ । पेरिसबीच भलिबल समुद्रको किनारमा गर्न सकेको थिएन । 

सन् १९३२ र १९८४ का आयोजक
सन् १९८४ मा लस एन्जलसले अन्तिमपटक ओलम्पिक गरेको थियो । त्यसवेला अमेरिका र सोभियत युनियनबीच ‘कोल्डवार’ चलेको थियो । दुई राष्ट्रबीचको बिग्रिएको राजनीतिक खेलमा समेत परेको थियो । त्यसवेला बेलायतले पाँच स्वर्ण हात पारेको थियो । आयोजक अमेरिकाले पदक तालिकामा दबदबा राखेको थियो । यसै ओलम्पिकमा पहिलोपटक महिला म्याराथन आयोजना भएको थियो । सन् १९३२ मा लस एन्जलेस त्यति समृद्धि तथा विकसित थिएन । यसकारण उनीहरूले औसत रंगशालामै प्रतियोगिता आयोजना गरेको थियो । यद्यपि, उद्घाटन समारोहमा १० हजार दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । 

क्यालिफोर्नियाको विश्वविद्यालयमा भिलेज
ओलम्पिक खेलकुद आयोजकले खेलाडीदेखि अफिसियललाई पाँचतारेस्तरको भिलेजमा राख्नुपर्छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)मा आबद्ध सबै राष्ट्रका खेलाडीहरूबीच आपसी सदभाव रहोस् भन्ने उद्देश्यका साथ उनीहरूलाई भिलेजमा राख्ने गरिएको हो । अमेरिकाले युनिभर्सिटी अफ क्यालिफोर्निया तथा लस एन्जलस विश्वविद्यालयलाई भिलेजका रूपमा प्रयोग गरिने भएको छ । अमेरिकाले ती विश्व विद्यालयमा खेलाडीहरूलाई प्रशिक्षणसमेतको व्यवस्था गर्नेछ । तर, फराकिलो क्यालिफोर्निया सहरमा हजारौँ दर्शकलाई सार्नु आयोजकहरूका लागि ठूलो चुनौती हुन सक्छ । यहाँका बस, काररहित ट्रान्जिटको व्यवस्थापन गर्नुपर्छ । प्रमुख रेल नेटवर्क अपग्रेड गर्नुपर्नेै लस एन्जलस टाइम्सले जनाएको छ । 

सात बिलियन अमेरिकी डलर बजेट
ओलम्पिक आयोजना गर्नु आफैँमा चुनौती हो । यो सरासर अर्थसँग जोडिएको हुन्छ । पछिल्ला संस्करणभन्दा उत्कृष्ट बनाउन आयोजकले अर्बौँ डलर खर्चनुपर्छ । अमेरिकाले पनि लस एन्जलेस ओलम्पिकका लागि सुरुवातमा सात बिलियन अमेरिकन डलर बजेट छुट्याइएको छ । यसै बजेटमा रही अमेरिकाले खेलसँगै ट्रान्सपोर्ट अपग्रेड गर्नुपर्ने लस एन्जलस टाइम्सले उल्लेख गरेको छ । पछिल्ला चार संस्करणको तुलनामा अमेरिकाले प्रस्तुत गरेको बजेट सबैभन्दा कम हो । यद्यपि, यसको पूरा तयारी हुँदासम्म बजेट बढन सक्छ । 

कुन खेल भित्रिने ?
आयोजकसँग केही खेल समावेश र हटाउने अघिकार छ । अमेरिकाले अहिले नै संभावित थपिने खेलको खाका बनाएको छ । चार वर्षपछि क्रिकेटका पारखीहरूले ओलम्पिक क्रिकेट खेल हेर्न पाउनेछन् । सन् १९०० पछि पहिलोपटक ओलम्पिकमा क्रिकेट खेल समावेश हुन लागेको छ । यो टी–२० फम्र्याटमा हुनेछ । यसैगरी लाक्रोसेस खेल पनि नयाँ खेलका रूपमा हेर्न सकिनेछ । उत्तर अमेरिकामा पुरानो खेल मध्ये लाक्रोसेस हो । अमेरिकाले बेसबल वा सफ्टबलमध्ये एक राख्ने सक्छ । अमेरिकाले राख्न सकिने खेलमा स्क्वास पनि रहेको छ । फयाग फुटबल पहिलोपटक ओलम्पिकमा डेब्यु हुने सम्भावना छ । पदकको सम्भावना बोकेको खेलमा अमेरिकाले सफरिङ, स्केटबोर्डिङ र स्पोट्र्स क्लाइम्बिङ राख्न सक्छ । 

सुझावित समाचार