बैठक सकारात्मक ढंगले अघि बढेको छ : प्रचण्ड

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठकमा सकारात्मक रूपमा छलफल भइरहेको बताएका छन् । ‘केही छैन, सबै मिलेर जान्छन् । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही भएको छैन,’ पार्टी कार्यालय पेरिसडाँडामा सोमबार स्थायी समिति बैठकपछि पत्रकारको प्रश्नमा प्रचण्डले भने । 

उपमहासचिव जनार्दन शर्माले राखेको लिखित प्रस्तावबारे पत्रकारले प्रचण्ड र शर्मालाई प्रश्न सोधेका थिए । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिए पनि शर्माले भने कुनै प्रतिक्रिया दिएनन् । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठक सकारात्मक ढंगले अगाडि बढेको र अध्यक्ष प्रचण्डले सोही संकेत गरेको बताए । ‘अध्यक्षले के भनेको हो भने, बैठक असाध्यै सकारात्मक, राम्रो हुँदै गइरहेको छ । भित्र जे छलफल भइरहेको छ, कहिलेकाहीँ सत्य एउटा हुन्छ, बाहिर अर्कै ढंगले आउँछ । भित्र स्तरीय छलफल भएको छ । बाहिर अंश–अंशमा जाँदा के–के बिग्रिएको हो कि जस्तो भएको छ । उहाँले संकेत गरेको कुरा त्यही हो,’ उनले भने । 

नेतृत्वको सवालमा वैचारिक, राजनीतिक, सांगठनिक, विधिगत छलफलतिर जानुपर्छ भन्ने रहेको उनले बताए । ‘सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति प्रचण्डबाट मात्रै हुन्छ भन्ने कुरा सबैले राख्नुभएको छ । तथ्यबाट सत्य खोजौँ, उद्देश्यमा केन्द्रित होऔँ र भविष्यतिर अगाडि बढौँ भन्ने भाव आजसम्म आउँदा व्यक्त भएको छ,’ सापकोटाले भने । 

शर्माले आइतबारको बैठकमा १४ पेजको लिखित प्रस्ताव राखेका थिए । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण वा केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न सुझाव दिएका छन् । पार्टी खस्किँदै गएकोमा मूल नेतृत्व र नेतृत्व पंक्तिले जिम्मेवारी लिनुपर्ने उनको मत थियो ।

गत शुक्रबार सुरु स्थायी समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । विचारमा जोड दिएर सदस्यहरूले विषय उठाएको सापकोटाले बताए । माओवादी परिवर्तनको पक्षधर भएको र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएको उनको भनाइ छ । ‘माओवादी परिवर्तनको पक्षधर हो, त्यसकारण एकताबद्ध हुनुपर्छ । माओवादी एकताबद्ध भएन भने देशलाई घाटा हुन सक्छ भन्ने चिन्ताका साथ विषय उठेको छ,’ उनले भने, ‘आलोचना पनि सकारात्मक, रचनात्मक कोणबाट भएको छ ।’ स्थायी समितिपछि केन्द्रीय समिति बैठकमा छलफल भएर निर्णयमा पुग्ने सापकोटाले बताए ।

See More On

सुझावित समाचार