हेटौँडा उपमहानगरपालिकाविरुद्ध व्यवसायीद्वारा आन्दोलनको घोषणा

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकाले अस्वाभाविक रूपमा राजस्वको दर वृद्धि गरेको भन्दै हेटौँडाका उद्योगी व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन्।

सोमबार मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका हुन्। उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०८१/८२ को लागि घरबहाल र अन्य विभिन्न शीर्षकमा लिँदै आएको करमा १६ देखि १५० प्रतिशतसम्म वृद्धि गरेको उनीहरूको दाबी छ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले उद्योगी व्यवसायी चरम मारमा परेका वेला उपमहानगरपालिकाले सहुलियत दिनुपर्ने ठाउँमा उल्टै करको दर र दायरा बढाएकाले बाध्य भएर आन्दोलनको घोषणा गर्नुपरेको बताएका छन्। 

उपमहानगरपालिकाले चालू आवका लागि १६ देखि १५० प्रतिशतसम्म कर वृद्धि गरेर व्यवसायीहरूलाई हतोत्साही गरेको छ। हाम्रो मागको सुनवाइ नभएपछि हामीले उपमहानगरपालिकामा धर्ना दिनेदेखि व्यवसाय बन्द गरेर चाबी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम घोषणा गरेका छौँ,’ उनले भने।

पहिलो चरणमा ३२ साउनसम्म आन्दोलनको घोषणा गरेका व्यवसायीहरूले कर वृद्धिका विषयमा नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई ध्यानाकर्षणपत्र बुझाउँदा पनि सुनवाइ नभएको भन्दै गुनासो गरे।

पटक-पटक आग्रह गर्दा पनि सुधार गर्नुको विपरीत नयाँ करको दर कार्यान्वयनतर्फ उपमहानगरपालिका अग्रसर भएपछि आन्दोलन गर्न बाध्य भएको अध्यक्ष गुप्ताको दाबी छ।

पहिलो चरणको आन्दोलनपछि पनि उपमहानगरपालिकाले व्यवसायीको मागको सुनवाइ नगरे उद्योग वाणिज्य संघले व्यवसायीहरूको तर्फबाट सामूहिक रूपमा उपमहानगरपालिकाविरुद्ध मुद्दासमेत दर्ता गराउने अध्यक्ष गुप्ताले चेतावनी दिए।

सुझावित समाचार