बंगलादेशको अन्तरिम सल्लाहकार परिषद्का सदस्य गृहमामिला सल्लाहकार सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पारेका छन्।
‘अवामी लिग पार्टीले बंगलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौँ,’ हुसेनले भने, ‘निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।’
रिटायर्ड बिग्रेडियर हुसेनको यो भनाइ बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीव वाजेदले निर्वाचनविना यही अवस्था लम्बिए देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो।
अवामी लिगकी प्रमुख ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई एक साताअघिदेखि भारतमा शरण लिइरहेकी छिन्। पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लंघनको आरोप लगाइएको छ।
वाजेदले करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल अवामी लिग महत्त्व पूर्ण रहेको बताए।
‘हामीसँग दशौँ लाख अनुयायी छन् । उनीहरू कतै जाँदैनन्,’ उनले एएफपीसँगको अन्तर्वार्तामा भने, ‘अवामी लिगविना बंगलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कमसेकम देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।’ (रासस/एएफपी)