गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै विदेशसचिव मिश्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए।
भारत नेपालको सुरक्षा, पूर्वाधार, ऊर्जा, जलस्राेतलगायतका क्षेत्रमा महत्त्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पुर्याएको सहयोगका लागि विदेशसचिव मिश्रीलाई धन्यवाद दिए।
सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागुऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिएका उनको सचिवालयले जनाएको छ।
सो अवसरमा भारतीय विदेशसचिव मिश्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नोतर्फबाट समेत सहयोग हुने स्पष्ट पारे। साथै उनले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।
भारतीय विदेशसचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आइपुगेका हुन्। विदेशसचिव मिश्री दुईदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यक्रम छ।