हिमालय एयरलाइन्सले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सीधा उडान पुनः सुरु गर्ने भएको छ। कुवेतमा रहेका नेपालीको माग र आवश्यकतालाई सम्बोधन गर्दै पुनः सीधा उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ।
एयरलाइन्सले आफ्नो सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउन कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ। सुरुमा काठमाडौं–कुवेत–काठमाडौं हप्तामा एक उडान सञ्चालन भए पनि मागको आधारमा उडानहरू थप्ने योजना रहेको कम्पनीले जनाएको छ।
कुवेतका लागि बुकिङका लागि यात्रुहरूले हिमालय एयरलाइन्स र कुवेतमा सिजर्स ट्राभल ग्रुपको सेल्स अफिस वा नजिकैको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्नेछन्। कम्पनीको वेबसाइट र मोबाइल एप्लिकेसन पनि प्रयोग गर्न सकिनेछ।