बागमतीको बजेट खर्च सुधारोन्मुख, प्रगति सात वर्षकै उच्च

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

प्रदेश स्थापना भएको सात वर्षमा बागमतीको बजेट खर्च आव ०८०/८१ मा सुधारोन्मुख देखिएको छ । प्रदेश सरकार गठन भएदेखि नै बागमती सरकार बजेट कार्यान्वयनमा सुस्त देखिएको थियो । विगतका आर्थिक वर्षहरूमा मुस्किलले ६५ प्रतिशतसम्म वित्तीय प्रगति हासिल गर्ने गरेको बागमतीमा गत आवमा हालसम्मकै बढी ७० प्रतिशत बजेट खर्च भएको छ । गत आवमा प्रदेश सरकारले कुल बजेट खर्च ७२ दशमलव ८३ प्रतिशत गरेको छ ।

प्रदेश सरकारले आव ०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख विनियोजन गरेकोमा पुँजीगततर्फ ७९.४७ प्रतिशत, चालूतर्फ ६५.१४ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाले जनाएको छ । प्रदेशका १३ मन्त्रालय र मातहतका निकायहरूले विनियोजन गरेको कुल बजेटमध्ये ४५ अर्ब ६७ करोड खर्च गरेका छन् । यो अघिल्लो आव ०७९/८० को तुलनामा ६.२३ प्रतिशत बढी हो । सो आवमा कुल विनियोजित बजेटको ६६.०६ प्रतिशत बजेट खर्च गरेको थियो । सबैभन्दा बढी अंकको बजेट ल्याएको आर्थिक वर्ष ०७०/८० मा प्रदेश सरकारको खर्च ६६.०६ प्रतिशत मात्रै थियो । सो आवमा ७० अर्ब ९३ करोड ९२ लाख बजेट सार्वजनिक गरेको बागमतीमा ४६ अर्ब ८६ करोड २० लाख मात्र खर्च गरेको थियो ।

आर्थिक वर्ष ०७८/७९ मा कुल बजेटको ६५.८३ प्रतिशत खर्च हुँदा ३४.१७ प्रतिशत बजेट फ्रिज भएको थियो । सो आवमा ५७ अर्ब ७२ करोडको बजेट ल्याइएकोमा ३७ अर्ब ९९ करोड ४९ लाख (६५.८३ प्रतिशत) खर्च भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा  ६९ प्रतिशत खर्च गरेको थियो भने ३१ प्रतिशत बजेट फ्रिज भएको थियो । उक्त आवमा प्रदेशले ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट सार्वजनिक गरेकोमा ३५ अर्ब ५९ करोड ४८ लाख खर्च गरेको थियो ।

आर्थिक ०७६/७७ मा कुल बजेटको जम्मा ५८.७१ प्रतिशत खर्च गरेको थियो । ४७ अर्ब ६० करोड ७८ लाख विनियोजित गरेको सो वर्ष २७ अर्ब ९५ करोड आठ लाख खर्च गरेको थियो । प्रदेश गठन भएको पहिलो वर्ष ०७५/७६ मा ल्याएको बजेटको जम्मा ६० प्रतिशत मात्र खर्च भएको थियो ।   

कसरी बढ्यो सरकारको बजेट खर्च ? 
प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले विगत पाँच वर्षको तथ्यांक हेर्दा प्रदेश सरकारको बजेट खर्च सुधारोन्मुख देखिएको बताए । राजनीतिक, प्रशासनिक तथा योजना छनोट र कार्यान्वयनको नीतिले बजेट खर्च बढेको उनकोे भनाइ छ । ‘प्रदेश सरकारले योजना कार्यान्वयनमा पाँचवर्षे नीति लिएसँगै योजना छनोट र बजेट विनियोजनसँगै कार्यान्वयन प्रणालीमा पनि केही सुधार आएको छ । निरन्तर एउटै सरकार र उसको योजना निर्माणका कारण पनि बजेट खर्चमा सहजता भएको हो,’ उनले भने । सरकारले साना र टुक्रे योजना धेरै बनाउँदा पनि विगतमा बजेट कार्यान्वयनमा समस्या भएको उनले बताए । 
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलका राजनीतिक सल्लाहकार डिपी ढकालले सरकारले लिएका नीति र योजना कार्यान्वयनका लागि पाएको अवसरले पनि बजेट खर्चमा सुधार आएको बताए । १८ महिनासम्म सरकार स्थिर रहेकाले मन्त्रीहरूले गर्नुपर्ने काम प्रभावकारी भएकाले बजेट खर्चमा सुधार भएको उनको भनाइ छ । 

सुझावित समाचार