प्रशोधित पिउने पानीमा अखाद्य वस्तु फेला : किम्ची फास्टफुडलाई दुई लाख जरिवाना

सोमबार, २८ साउन, २०८१
डिजिटल संस्करण

काठमाडौैं महानगरपालिकाले अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड फास्टफुडलाई दुई लाख जरिवाना गर्ने निर्णय गरेको छ । गत शुक्रबार रेस्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडासदस्य, वडासचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण दिएको थियो ।

सो क्रममा सिल गरेको प्रशोधित पानी गिलासमा खन्याएर पिउन थालेपछि वडा नम्बर ११ का वडासदस्य यशोमती परियारले किरा सल्बलाएको देखेकी थिइन् । कार्यक्रममा उपस्थित महानगरपालिकाका उपमेयर सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहेकी डंगोलले दूषित पानी बिक्री गर्नेलाई तत्काल कारबाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो । 

‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल गरेको बोतलभित्र अखाद्य वस्तु देखिनु चरम लापरबाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउनेपानीको स्वच्छतामा लापरबाही नगर्न व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ ।’ उपमेयर डंगोलले भनिन्, ‘अनुरोधलाई अटेर गर्नेहरूलाई कानुनी कारबाही गर्नुको विकल्प छैन ।’ त्यसपछि तत्काल अनुगमन टोली पुगेर रेस्टुरेन्टबाट नमुना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समयसमेत सकिएकाले त्यस दिन कारबाहीको निर्णय हुन सकेन । यसकारण दूषित पानी बिक्री गर्नेलाई दुई लाख जरिवाना गर्ने निर्णय भएको हो ।

रेस्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नंम्बर ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एन्ड बेभरेज प्रालिले उत्पादन गरेको ‘इको’ ब्रान्डको पानी हो । खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई दुईपटक जरिवाना तिराएको थियो । 

सुझावित समाचार