समलिंगी प्रेममा आधारित भएर तयार पारिएको ‘गोर्खा पल्टन’ गीत सार्वजनिक भएको छ।
सुपक अधिकारीको शब्द, रिमेशकुमार थापाको संगीत, विशम आचार्यको एरेंज रहेको गीतमा शान्तिश्री परियार र नित्याशिवाले आवाज दिएका छन्।
गीतकार अधिकारीको युट्युबमार्फत आइतबार गीत सार्वजनिक गरिएको हो। गीतमा एकै लिंगबीचको प्रेमलाई उतारिएको गीतकार अधिकारीले जानकारी दिए।
‘विवाह भनेको केटाले केटीलाई सिन्दुर हाल्ने मात्रै होइन, दुईआत्माको मिलन हो भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ,’ अधिकारीले भने, ‘नेपालको संविधानले पनि लिंगको आधारमा कोही नागरिकलाई भेदभाव गरिने छैन भनी प्रस्ट्याएकोले त्यही विषयलाई गीतका रूपमा स्रोतादर्शक माझ ल्याएको हुँ।’
गीतमा लाहुरेको भूमिकामा स्मारिका ढकाल र उनकी प्रमिकाको भूमिकामा दीपा शाहिले अभिनय गरेका छन्। चक्रबहादुर बरालको छायांकन, मदन न्यौपानेको श्रृंगार, सियोन श्रेष्ठको नृत्य संयोजन, सन्तोष पराजुलीको प्रोडक्सन र सिलन लम्सालको सम्पादन रहेको भिडियोलाई शंकर अधिकारी (घायल)ले निर्देशन गरेका हुन्।
अस्ट्रेलियामा बसोबास गर्दै आएका पोखराका अधिकारीका ‘गड्यो प्यार दिलमा’ बोलको गजल गीत, पैसा हैन माया, दोहोरो मादल, हल्ला चल्यो, देशले माग्दैलगायतका गीत सार्वजनिक भइसकेका छन्। उनी अध्ययन र कामको क्रममा डेढ दशकदेखि विदेशमा छन्।