संविधान संशोधन दुई वर्षपछि मात्र सम्भव छ: कोइराला

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

कांग्रेस नेता शेखर कोइरालाले संविधान संशोधन तत्काल सम्भव नभएको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता कोइरालाले संघीय संसद्को वर्तमान अंकगणितको कारण तत्काल संविधान संशोधन सम्भव नभएको बताएका हुन्।

‘संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरा दिमागबाट हटाइदिनुस्। त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ। किन हुन सक्दैन भने प्रतिनिधिसभा र राष्ट्रिय सभा मिलाएर दुईतिहाइ बहुमत चाहिन्छ। राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन,’ उनले भने, ‘त्यसैले दुई वर्ष कुर्नुपर्ने हुन्छ।’

कांग्रेस–एमाले नेतृत्वमा प्रतिनिधिसभामा दुईतिहाइ बहुमत रहे पनि राष्ट्रिय सभामा छैन। राष्ट्रिय सभामा माओवादी केन्द्र सबैभन्दा ठूलो दल भएकाले उसको समर्थनविना दुईतिहाइ पुग्न सक्दैन।

यसैतर्फ इंगित गर्दै नेता कोइरालाले दुई वर्षपछि मात्र संविधान संशोधन हुन सक्ने बताएका हुन्। दुई वर्षपछि राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदमा कांग्रेस–एमालेका उम्मेदवार निर्वाचित हुने र राष्ट्रिय सभामा पनि दुईतिहाइ पुर्याउन सकिने कोइरालाले संकेत गरे। 

उनले संशोधन गर्दा माओवादीलगायत अन्य राजनीतिक दलहरूलाई पनि साथ लिएर जानुपर्ने उनको भनाइ थियो। ‘संविधान नेपाली जनताको हो,’ उनले भने, ‘कुनै राजनीतिक दलको संविधान हुँदैन भन्ने कुरा हामीले बुझौँ। नेपाली जनताको संविधानलाई सबै राजनीतिक दलहरूले स्वीकार गरेको हिसाबले हामी जानुपर्ने हुन्छ।’

सुझावित समाचार