विपन्न नागरिकको उठिवास लगाउने सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीकी छोरीलाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ। रामदेव तेलीकी छोरी खडक नगरपालिका– ७ कल्याणपुरकी अनुराधा साहलाई सप्तरी जिल्ला अदालतका न्यायाधीश संजीव पोखरेलको एकल इजलासले आइतबार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।
मिटरब्याजी रामदेव साहु तेलीसहित आठजनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सप्तरी जिल्ला अदालतमा बुधबार अभियोगपत्र दायर गरेको थियो। रामदेवसहित उनकी श्रीमती शिवकुमारी देवी, छोराहरू नन्दकिशोर र विपिनकुमार, छोरीहरू पुषा साह र अनुराधाकुमारी साह, नाति चन्दनकुमार साह र कैलाश साहलाई प्रतिवादी कायम गरिएको मुद्दामा १३ करोड ५५ लाख ७८ हजार ८२६ रुपैयाँ बिगो दाबी गरिएको छ।
आरोपपत्रमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय हुनका साथै निजको नाममा रहेको सम्पत्ति तथा साधन ऐनको दफा ३४ को उपदफा (१) बमोजिम जफत गर्न मागदाबी गरिएको छ।
परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका छन्। निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न रहेको अभियोग छ ।
खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई २२ असार ०७९ सालमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। त्यसपछि छोरा र छोरीलाई जनही ५०–५० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। असार २६ गते धरानबाट पक्राउ गरिएको मिटरब्याजी रामदेव साह तेलीकी श्रीमती शिवकुमारीलाई २५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सप्तरी जिल्ला अदालतले आदेश दिएको थियो।
ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए।