नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधाले घटाएको छ। आर्थिक वर्ष ०७२/७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर आव ०८०/८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ।
विद्युत् चुहावटमध्ये प्रसारणलाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ। आठ वर्षअघि २५.७८ प्रतिशत चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए। लोडसेडिङ अन्त्य भई चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको बताए।
‘चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ, नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौँ, अब चुहावटलाई एकल अंक (सिंगल डिजिट)मा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौँ,’ उनले भने।
आव ०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखापरीक्षण हुन बाँकी) पुगेको प्राधिकरणले जनाएको छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।
प्राधिकरणका अनुसार ठूला क्षमताका प्रसारणलाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको हो। घिसिङले वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको बताए।