कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू बन्द हुने क्रम बढेको छ। व्यवसाय चल्ने स्थिति नभएपछि जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्द गर्नेको संख्या वृद्धि हुँदै गएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ। कोरोनाकालपछि जिल्लामा उद्योग र व्यावसायिक फर्महरू चल्न नसक्ने स्थिति भएपछि बन्द हुने क्रम बढेको व्यवसायीहरू बताउँछन्।
कार्यालयका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि आर्थिक वर्ष ०८०/८१ सम्म विगत ६ वर्षमा साना उद्योग र वाणिज्य फर्म गरेर एक हजार ३४९ फर्म बन्द भएका छन्। उद्योगमा नाफाभन्दा घाटा निरन्तर बढ्दै गएपछि उद्योगी र फर्मधनीहरूले व्यवसाय बन्द गरेका हुन्। गत आर्थिक वर्ष ०८०/८१ मा २६९ साना उद्योग र ११३१ व्यावसायिक फर्म बन्द भएका थिए। जुन विगत वर्षहरूको सबैभन्दा बढी रहेको कार्यालयले जनाएको छ।
त्यसो त गत आवमा ४०५ साना उद्योग र ३५३ वाणिज्य फर्म दर्ता भएका छन्। यद्यपि, दर्तासँगै बन्द हुने संख्या पनि वृद्धि भइरहेको छ। आर्थिक वर्ष ०७९/८० को एक वर्षको अवधिमा ७८ साना र ९६ वाणिज्य फर्म बन्द भएका थिए। आर्थिक वर्ष ०७५/७६ मा ६१, आर्थिक वर्ष ०७६/७७ मा ७५, आर्थिक वर्ष ०७७/७८ मा ७७ र आर्थिक वर्ष ०७८/७९ मा ९० वटा साना उद्योग बन्द भएका तथ्यांक छ। वाणिज्य फर्मतर्फ आर्थिक वर्ष ०७५/७६ मा १६९, आर्थिक वर्ष ०७६/७७ मा १७८, आर्थिक वर्ष ०७७/७८ मा १०९, आर्थिक वर्ष ०७८/७९ मा ७६ वटा बन्द भएका कार्यालयले जनाएको छ।
बन्द हुने साना उद्योगमा उत्पादनमूलक कृषि तथा वन सेवामूलक र पर्यटन रहेका बताइएको छ। यस्तै व्यावसायिक फर्महरूमा किराना पसल हार्डवेयर, कपडा पसल, मदिरा, कस्मेटिक ई–मोबाइल पसललगायतका रहेका छन्। जिल्लामा कोरोना कालपछि असहज स्थिति बन्दै गएपछि उद्योगधन्दा खुल्ने क्रम पनि घटेको छ। आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र वाणिज्य फर्म नवीकरण नभएर बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेमबहादुर गौतम बताउँछन्। व्यवसायमा निरन्तर घाटा भएपछि धेरै व्यवसायीहरू उद्योग र फर्म बन्द गरी विदेश पलायन भएका गौतमले बताए।
कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कपिल) पनि जिल्लामा उद्योग व्यापार खुल्नेभन्दा बन्द हुने क्रम बढेको बताउँछन् । ‘विगत वर्षहरूमा चहलपहल र बिक्री हुने पसलहरू निरन्तर घटामा गएको र भाडासमेत तिर्ने स्थिति नभएपछि बाध्य भएर बन्द भएका छन्,’ उनले भने।