अपांगता भएका व्यक्तिहरूले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन्। सरकारी कानुन कार्यान्वयन नगर्दा राजधानीलगायत देशभरका सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिलाई ओहोरदोहोर गर्न कठिन भएको उनीहरूले गुनासो गरेका हुन्। शुक्रबार राष्ट्रिय शारीरिक अपांग संघले आयोजना गरेको कार्यक्रममा उपस्थित व्यक्तिहरूले सार्वजनिक यातायात अपांगतामैत्री नभएको बताएका हुन्।
सीमित सार्वजनिक सवारीसाधन मात्रै अपांगतामैत्री रहेको बताउँदै संघका प्रमुख किरण सिल्पकारले सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिलाई प्राथमिता दिएर काम गर्नुपर्ने बताए। ‘अपांगतामैत्री सवारीसाधन नहुँदा अपांगता भएका व्यक्तिलाई ओहोरदोहोरमा समस्या छ, सबैजसो यातायात तथा सडक पूर्वाधार अपांगतामैत्री हुनुपर्छ,’ उनले भने, ‘कानुनमा उल्लेख भए पनि अपांगताका विषयमा कार्यान्वयन हुन निकै कठिन छ।’
उनका अनुसार सार्वजनिक बसहरूमा अपांगता भएका व्यक्तिलाई चढाउन नखोज्ने, भाडा छुट नदिने, दुर्व्यवहार गर्ने, आरक्षण सिट कार्यान्वयन नगर्नेलगायतका समस्या देखिएका छन्। हाल देशभर अपांगता भएकाहरूको संख्या ६ लाख ४७ हजार हाराहारी छ। यसमध्ये उपत्यकाका दैनिक पाँच हजार अपांगता भएका व्यक्तिहरू यातायातको प्रयोग गर्छन्। तर, उनीहरूलाई यातायात प्रयोग गर्न निकै कठिन हुने गरेको छ।
अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा पनि अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिनुपर्ने, आरक्षण सिट कार्यान्वयन गर्नुपर्नेलगायत उल्लेख छ। तर, पनि सार्वजनिक यातायातमा उक्त विषय कार्यान्वयन हुन नसकेको राष्ट्रिय अपांग महासंघले जनाएको छ।