पूर्वी पहाडी तथा हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा शुक्रबार नागपञ्चमीदेखि नेवार जातिले लाखेजात्रा सुुरु गरेका छन्।

खाँदबारीस्थित भीमसेनको मन्दिरमा नेवारी पुजारीबाट औपचारिक रूपमा पूजा गरी लाखेजात्रा निकालिएको हो। नेवारी जातिको धार्मिक, सांस्कृतिक र विगत परम्परादेखिनै चलिआएको ‘लाखे नाच’ नागपञ्चमीका दिनदेखि विधिवत् रूपमा शुभारम्भ गरिएको हो।

भाषा, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रमुख उद्देश्य राखेर विगतदेखि नै नेवार समुदायले लाखे निकाल्ने गरेको नेवाः देयाः दबुका खाँदबारी नगरसमितिका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए।

उनले विगतका दिनहरू लाखेजात्राप्रति केही विकृतिहरू देखिएकाले त्यसलाई रोक्नलाई लाखेनाचलाई पर्वको रूपमा हौसलापूर्वक मनाउन अनुरोध गरिएको बताए। ‘लाखेजात्रामा हुने विकृति हटाउन यो वर्षदेखि लाखेनाच निकाल्न चाहने नेवार समुदायले नेवाः देयाः दबु समितिमा अग्रिम रूपमा दर्ता गराई नियम संगत मात्रै लाखे निकाल्न अनुरोध गरिएको छ।


