तनहुँमा डेंगु संक्रमण बढ्दै गएको छ। शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगु संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने संक्रमित फेला परेका छैनन्। व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेंगु पुष्टि भएको छ।
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो। डेंगु संक्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ। शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेंगु परीक्षण गरिएको छ।
एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरू आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए।
पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन्। गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेंगु संक्रमित भएका थिए। जिल्लाभर करिब सात हजार संक्रमित रहेकामा कुल संक्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए। त्यस्तै, चारजनाको डेंगु संक्रमणबाट मृत्युसमेत भएको थियो।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनी समयमै घरवरपर जमेकाे पानीका खल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको बताए। उनका अनुसार १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिइएको छ।
जिल्लाका १० मध्ये तीन स्थानीय तहमा डेंगुका बिरामी देखा परेका छन्। आँबुखैरेनी, शुक्लागण्डकी र व्यास नगरपालिकामा डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए। डेंगुका बिरामी बढ्दै गएपछि यस क्षेत्रमा सरसफाइका साथै स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ। ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ।