चितवनको अंकुरम् एकेडेमीले जिल्लामा पहिलोपटक अंकुरम् नमुना संयुक्त राष्ट्रसंघ (मोडेल युनाइटेड नेसन) सुरु गर्दै छ। शुक्रबारदेखि भरतपुर– ७, कृष्णपुरमा रहेको अंकुरम् एकेडेमीमा हुने नमुना संयुक्त राष्ट्रसंघको अभ्यासमा १७ वटा विद्यालयबाट २३८ विद्यार्थी प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।
अंकुरम् एकेडेमीका प्राचार्य सुमन पौडेलका अनुसार संयुक्त राष्ट्रसंघको जसरी नै तीन दिनसम्म यहाँ विद्यार्थीले संयुक्त राष्ट्रसंघका ६ अंगमध्ये पाँचवटा अंग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (युएनएससी), संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी), संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद् (युएनएचआरसी), संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रतिनिधित्व गर्नेछन् । पाँचवटा अंगको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू आवासीय र गैरआवासीय गरी दुई किसिमका हुनेछन् ।
पौडेलका अनुसार पाँचवटा अंगमा समान ४५ जना प्रतिनिधिको सहभागिता रहने कार्यक्रममा विद्यार्थीमा विभिन्न राष्ट्रको प्रतिनिधित्व गर्दै अनुसन्धान गर्ने बानीको विकास, वादविवाद गर्ने क्षमताको विकास, कूटनीतिक सीपको विकास, समालोचनात्मक चिन्तनको विकास, सामाजिकीकरण र विश्वव्यापी समस्याहरूको जानकारी राख्ने बानीको विकास हुनेछ ।
सम्बन्धित अंगको प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र भविष्यको कार्यक्रम तय गर्नेछन् । आफू सहभागी अंगसम्बन्धी अध्ययनका साथै वर्तमानका विश्वव्यापी समस्याहरूको अध्ययन गरी तिनको समाधान पनि सुझाउनेछन् । एकेडेमीले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त अभ्यासमा जोड्दै जाँदा सिकाइलाई थप व्यावहारिक बनाउन सकिने विश्वाससहित यस्ता कार्यक्रम गर्दै आएको छ ।