रेकर्ड पछ्याउँदै बजार पुँजीकरण

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

जिडिपीको ७६.९७ प्रतिशत पुग्यो बजार पुँजीकरण

सेयर बजारमा कम्पनीहरूको सेयर मूल्यमा भइरहेको वृद्धिले बजार पुँजीकरणलाई उचालेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार बजार पुँजीकरण ४३ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । गत सोमबार बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको थियो । जुन ३५ महिना २८ दिनयताकै उच्च थियो ।

२८ साउन ०७८ मा पुँजीकरण ४४ खर्ब ३७ अर्ब पुगेको थियो । हालसम्म कीर्तिमानी बजार पुँजीकरण २ भदौ ०७८ मा ४४ खर्ब ६८ अर्ब पुगेको थियो । त्यस दिन नेप्से परिसूचक पनि अल टाइम हाई विन्दु ३१९८.६० पुगेको थियो ।

अहिलेको बजार पुँजीकरणले पनि कीर्तिमानी अंकलाई पछ्याउँदै गइरहेको देखिन्छ । मंगलबार पुँजीकरण घटेर ४२ खर्ब आठ अर्ब पुगे पनि बुधबारदेखि पुँजीकरण बढ्दै गइरहेको छ । बुधबार पुँजीकरण ४३ खर्ब ८० अर्ब पुगेको थियो । 

के हो बजार पुँजीकरण ?
धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पुँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरूको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पुँजीकरण निकालिन्छ । यसले सेयर बजारको आकारलाई समेत जनाउँछ । 

सेयर बजारको आकार अहिले अर्थतन्त्रको आकार जिडिपी (कुल गार्हस्थ्य उत्पादन)को ७६.९७ प्रतिशत पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयअनुसार देशको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब चार अर्ब ८४ करोड रुपैयाँ छ । 

सन् २००७ मा छिमेकी मुलुक भारतमा बजार पुँजीकरण १४६.४ प्रतिशत पुगेको थियो । बिहीबार बजार पुँजीकरण ५.२ ट्रिलियन अमेरिकी डलर पुगेसँगै भारत संसारकै चौथो ठूलो पुँजी बजार बनेको छ । अमेरिका (५७ ट्रिलियन डलर), चीन (८.५ ट्रिलियन डलर) र जापान (६.७ ट्रिलियन डलर) संसारका ठूला सेयर बजार हुन् । विश्वको बजार पुँजीकरण ८.१ प्रतिशतले बढेको छ, जसमा भारतको मात्रै २३.५९ प्रतिशत योगदान छ । 

नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीका अनुसार जिडिपीको आकार बराबर बजार पुँजीकरण पुग्दा सेयर बजारमा जोखिम बढ्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । उनले भने, ‘मार्केट क्यापिटलाइजेसन अर्थतन्त्रको आकार हाराहारी पुग्यो भने अर्थतन्त्रलाई पनि सोही आधारमा वृद्धि गर्न सक्नुपर्छ भन्ने हो । नत्र सेयर बजारमा जोखिम बढ्छ भन्ने छ । तर, यो सिद्धान्त सधैँ उपयोगी हुन्छ भन्ने छैन । यद्यपि, बजार पुँजीकरण जिडिपीआसपास पुग्यो भने ध्यान दिनुपर्छ ।’

०७८ को तुलनामा सूचीकृत कम्पनीहरूको संख्यामा वृद्धि भएकाले तुलनात्मक रूपमा बजार पुँजीकरण अझै बढिहालेको भन्न नसकिने अवस्था रहेको उनको भनाइ छ । यद्यपि, कम्पनीहरूको पर्फमेन्सअनुसार सेयर मूल्य अस्वाभाविक भइरहेकाले बजारमा जोखिम हो कि भन्ने अनुमान लगाउन सकिने उनले बताए । 

बिहीबार सामान्य अंकले बढ्यो नेप्से
साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक ६.७ अंक (०.२४ प्रतिशत)ले बढेको छ । परिसूचक २७६६.३८ विन्दुमा रोकिएको छ । अन्तरदिवसीय कारोबारमा परिसूचक २८११.१६ विन्दुमा समेत पुगेको थियो । अहिलेको वृद्धिदरले निरन्तरता पाइरहने हो भने बजार २८०० विन्दु नाघ्ने देखिन्छ । 

बैंकिङ समूह, विकास बैंक समूह, फाइनान्स समूह, होटेल तथा पर्यटन समूह, जीवन बिमा समूह, माइक्रो फाइनान्स र अन्य समूहका सूचक ऋणात्मक छन् । यद्यपि, जलविद्युत्, लगानी, उत्पादनमूलक, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूहका सूचकमा वृद्धि हुँदा समग्र बजार सामान्य अंकले बढेको हो । 

कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु जलविद्युत्, सोनापुर मिनरल्स एन्ड आयल र सर्वाेत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्सको छ । शिवम्को एक अर्ब २० करोड र हिमालयन रिइन्स्योरेन्सको एक अर्ब सात करोडको सेयर कारोबार भएको छ । बिहीबार कुल कारोबार २० अर्ब सात करोडको छ । पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता सेयर किनबेच भएको छ । 

सुझावित समाचार