डेंगु संक्रमणको जोखिम बढेकाले नियन्त्रणका लागि सरकारी अस्पतालहरूमा निःशुल्क उपचार सुरु गरिएको छ। देशभरका संघीय, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजहरूले डेंगुका बिरामीको निःशुल्क उपचार सुरु गरेका हुन्।
अघिल्लो वर्षको तुलनामा संक्रमण कम देखिए पनि देशभरि नै संक्रमण रहेकाले उपचारमा सहजताका लागि नि:शुल्क उपचार सेवा सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अस्पताल, प्रतिष्ठान र मेडिकल कलेजहरूसँग छलफल गरेर बिहीबारदेखि नि:शुल्क सेवा सुरु गरेको मन्त्रालयले जनाएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार डेंगु संक्रमण प्रत्येक वर्ष देखिन थाले पनि आममानिसले नियन्त्रणमा बेवास्ता गर्ने प्रवृत्तिका कारण जोखिम कायमै रहेकाले उपचार सेवा नि:शुल्क गरिएको हो। मन्त्रालयले सबै सरकारी कार्यालयहरूलाई ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने अभियानसमेत सुरु गर्न भनेको छ।
‘संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पतालपरिसरमा सरसफाइ गर्नाका साथै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्न निर्देशन दिइएको हो,’ डा. बुढाथोकीले भने।
गत वर्षको तुलनामा यो वर्ष डेंगु संक्रमणदर निकै न्यून भए पनि नियमित संक्रमण देखिइरहेका कारण नियन्त्रणका लागि सबै उपाय अपनाइरहेको डा. बुढाथाेकीले बताए। योसँगै अस्पतालहरूले सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र बिरामीको उपचार व्यवस्थापन गर्नेसमेत बताइएको छ।
हालसम्म ७३ जिल्लामा दुई हजार ३६५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। मंगलबार मात्रै तनहुँमा एक ५० वर्षीय पुरुषको डेंगु संक्रमणबाट मृत्यु थियो।